मुहानमा बाढी र लेदो आएपछि रोकियो मेलम्चीको पानी वितरण

काठमाडौं । काठमाडौं उपत्यकावासीको मुख्य खानेपानीको स्रोत मेलम्ची खानेपानी आयोजनाको आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ। सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुहान हेडवर्क्स क्षेत्रमा वर्षासँगै लेदोसहितको बाढी पसेर पानी अत्यधिक धमिलो भएपछि आपूर्ति बन्द गरिएको हो।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएले का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानमा पानीको धमिलोपन टर्बिडिटी अत्यधिक बढेका कारण सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी पठाउन रोकिएको छ। प्रशोधन प्रक्रिया नै प्रभावित हुने गरी धमिलो पानी आएपछि बचावटका लागि मेलम्चीबाट सुन्दरीजलतर्फको आपूर्ति बन्द गरिएको हो।
प्रवक्ता चन्दले मुहान क्षेत्रको पानीको गुणस्तरमा सुधार आउनासाथ प्रशोधन प्रक्रिया पुनः सुरु गरिने जानकारी दिनुभयो। पानी सफा भएपछि पूर्वनिर्धारित वितरण तालिकाअनुसार नै उपत्यकावासीका घरमा पानी आपूर्ति गरिने केयुकेएलले जनाएको छ
जलधार क्षेत्रमा निरन्तर वर्षा भइरहेमा मुहानको पानी सफा हुन केही समय लाग्न सक्छ। त्यसैले उपत्यकामा नियमित खानेपानी आपूर्ति पुनः सञ्चालन हुन केही दिन लाग्न सक्ने देखिएको छ।
वर्षायाम सुरु भएसँगै मेलम्ची नदीमा आउने बाढी र लेदोका कारण आयोजनाको हेडवर्क्समा क्षति पुग्न सक्ने जोखिमलाई ध्यानमा राख्दै यसअघि पनि वर्षातको समयमा आयोजना बन्द गर्ने गरिएको थियो। केयुकेएलले उपभोक्ताहरूलाई पानीको मितव्ययी प्रयोग गर्न र वैकल्पिक स्रोतको व्यवस्थापनमा ध्यान दिन अनुरोध गरेको छ।

LEAVE A REPLY