जिल्लावासीको दबाबपछि भोजपुर–दिङ्ला सडक निर्माणमा तीव्रताः —नगरप्रमुख आले

भोजपुर । भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाश कुमार आलेले विगत लामो समयदेखि विवाद तथा पटक–पटकको ठेक्का रद्दपछि जिल्लावासीको ठूलो दबाबका कारण भोजपुर–दिङ्ला जोड्ने सडक तीव्र गतिमा निर्माण भईरहेको बताउनुभएको छ । जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग सडक सञ्जालले जोड्न उक्त सडक महत्वपूर्ण योजना भएको उहाँको भनाई छ । उहाँको अनुसार भोजपुरको उत्तरी क्षेत्र जोड्ने मुख्य मार्गका रुपमा रहेको भोजपुर–तीनतले–दिङ्ला सडक निर्माणको काम तीव्र गतिमा अगाडी बढीरहेको छ । भोजपुर नगरपालिका–९ पानीट्याङ्कीबाट सुरुभई धापरवर्क, सन्तले, बाघखोर, तीनतले हँुँदै षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला जोड्ने ५१ किलो मिटर सडकको अक्सफाल्ट प्रविधिको कालोपत्रे गर्ने कार्य अन्तरगत सुरुवाती चरणका कार्य तीव्र गतिमा भइरहेको छ । सडक निर्माणका क्रममा उत्पन्न जग्गा, घर, भवन लगायतका विवाद समाधान गरी निर्माण कार्यमा सहयोग गर्दै आइरहेको नगरप्रमुखको भनई छ । कोशी प्रदेशका तत्कालिन मुख्यमन्त्री राजेन्द्र राईको कार्यकालमा करिब एक अर्ब रुपैयाँ स्रोत सुनिश्चित भई करिब एक अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको जनाइएको छ । पहिलो चरणमा भोजपुर सदरमुकाम–तीनतले साढे सत्र किलोमिट ५८ करोड रुपैयाँमा र दोस्रो चरणमा साढे ३३ किलोमिटर ६३ करोड रुपैयाँमा तीनतले–दिङ्ला सडक पिचको ठेक्का सम्झौता क्रम रायमाझी मार्सेली र बानियाँ निर्माण कम्पनीले पाएको थियो । सम्झौता अनुसार पहिलो फेजमा सडक साइड कटिङ, क्लियरेन्स, चौडापार्ने, ग्याविन र रिटेनिङवाल लगाउने, नाली बनाउने काम भईरहेको छ भने, दोस्रो फेजमा चारकिलोमिटर सडक कटिङ्ग, ग्रेडिङ तथा साइड क्लियरेन्स भईरहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमख ई.रामेश्वर महतोले जानकारी दिनुभयो । मार्सेली जेभीका ठेकेदार श्याम श्रेष्ठले पहिलो चरणको ठेक्का सम्झौतापछि काम सुरु भएको तीन महिनाको अवधिमा १२ किलोमिटर कटिङ र ग्रेडिङ, छ किलोमिटर सम्म ड्रेन, ग्याविन, पिसीसी, स्टोन मेसिनरी, होमपाइप लगायत को कार्य भइरहेको जानकारी दिनुभयो । कम्पनीसँग पर्याप्त स्रोत साधनसँगै फिल्डमा १५० जना कामदार कार्यरत रहेकाले सम्झौता अवधि भित्रै निर्माण सम्पन्न गर्न सकिने ठेकेदार श्रेष्ठको भनाई छ ।

LEAVE A REPLY