कैलाश सिरोहिया हिरासत मुक्त

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा छुटेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरिएको हो । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५।१० मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था छ ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई हिरासत मुक्त गरिएको जनाएको जेष्ठ ८ गते पक्राउ परेका सिरोहियाको स्वास्थ्यमा समस्या देखा परेपछि जेष्ठ १२ गते काव्य अस्पताल भर्ना भएका थिए । उनको मुटुसम्बन्धी समस्या देखापरेपछि मंगलबार थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । सिरोहिया नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिटसीसीयूमा उपचारत छन् ।

जिल्ला अदालत, धनुषाले गत सोमबार तेस्रो पटक हिरासतमा राख्ने अनुमति दिँदा स्वास्थ्य अवस्था खतरामा पर्ने बताउँदै अस्पताल लगेर स्वास्थ्य परिक्षण गराउन सुझाव दिएको थियो । साथै अदालतले अनुसन्धानमा ढिलो नगर्न समेत सुझाव दिएको थियो । कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध प्रहरी कहाँ नागरिकता विवादसम्बन्धी उजुरी परेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश प्रदेश सदस्य इन्द्रजित महतोले दिएको जाहेरी धनुषा प्रहरीले १७ वैशाखमा जाहेरी दर्ता गरेको थियो ।

प्रहरीले सिरोहियालाई पक्राउ गर्न ८ जेठमा अदालतबाट अनुमति लिएको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएकै साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालयबाट सिरोहियालाई गिरफतार गरेर सोही दिन धनुषा लगेको थियो । सिरोहियालाई पक्राउ गरिएकोबारे असन्तुष्टि जनाउँदै संचारमाध्यमदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरुले नेपाल सरकारलाई रिहा गर्न आग्रह गरेका थिए ।

सिरोहियाले धनुषाबाट नागरिकताको प्रमाणपत्र प्राप्त गर्दा नागरिकता फाँटका कर्मचारी काशीराज दाहालले आफ्नो हस्ताक्षरमा उनलाई नागरिकता प्रमाणपत्र दिएको स्वीकार गर्दै सिरोहियाको नागरिकता नम्बर राख्ने क्रममा फाँटवाला कर्मचारीहरुमार्फत त्रुटि भएको सिरोहियाका तर्फबाट जिल्ला अदालतमा बहस गरेका अधिवक्ता रमण कर्णले जानकारी दिए । उनका अनुसार कर्मचारीले गरेको त्रुटिमा सेवाग्राही जिम्मेवार नहुने भएपछि उनलाई हिरासतमुक्त गरिएको हो ।

 

LEAVE A REPLY