गाउको नागरिक गाउँमै बस्ने वातावरण बनोस्

देश पूर्ण रुपमा संघीयतामा गईसकेको छ । संघीयतामा गएसँगै तीनै तहको निर्वाचन २÷२ पटक सम्पन्न भईसकेको छ तर संघीयताको रसस्वादन गाउँका आम नागरिकले गर्न पाएका छैनन् । केन्द्रीकृत शासन व्यवस्था गाउँगाउँसम्म फैलाउन भनेर संविधानमै व्यवस्था गरेर शक्ति विकेन्द्रीकरण गरियो तर गाउँगाउँमा शक्ति र सत्ता पुगे पनि आम नागरिकको शहरप्रतिको आकर्षण घट्न सकेन । स्थानीय तहले पनि खान जनमुखी काम गरेर देखाउन सकेन जसका कारण नागरिकमा नेपालमै केही गर्न सकिन्छ भन्ने भावना स्थानीयमा जागृत गराउन सकेन । फलस्वरुप गाउँबाट नजिकैको शहर, संघीय राजधानी काठमाडौं र काठमाडौंबाट पनि परदेशतर्फ लाग्नेहरुको संख्या धेरै छ । संघीयता आएसँगै गाउँबाट शहर–शहरबाट परदेश जानेको संख्या कम हुँदै जानु पर्नेमा उल्टो बढ्दै गएको छ । कारण हो जनप्रतिनिधिहरुले बोलेको बचन र काम गराईमा तालमेल नमिल्नु । स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो क्षेत्रमा स्कुल, अस्पताल, खोलानालामा पुल जस्ता अति आवश्यक पूर्वाधार निर्माण गर्न तिरभन्दा ठूला ठूला प्रशासनिक भवन, भ्यूटावर जस्ता निर्माणमा बजेट खर्चिन माहिर छन् । जनताका अत्यावश्यकीय वस्तुको आपूर्ति र पूर्वाधार पछि मात्रै ठूला भवन र भ्यूटावर चाहिन्छ भन्ने कुराको विवेक जनप्रतिनिधिले पुर्याउन नसकेको देखिन्छ । यसबाट सर्वसाधारण नागरिकमा जन आक्रोश र निरासा बढ्नु स्वभाविकै हो ।
गुणस्तरीय शिक्षा, उपचार र रोजगारी प्राप्त गर्ने उद्देश्यले शहर काठमाडौं आएका र आउने क्रम बढ्दै जाँदा संघीय राजधानीले जनचाप र भार थाम्न धौ धौ परेको छ । जनचापकै कारण बढ्दै गएको सवारी साधनले गुड्ने ठाउँनै सहज रुपमा प्राप्त गर्न मुस्किल परेको छ । सडक जति चौडा गरे पनि सडक जाम घट्ने भन्दा बढ्ने तर्फ गइरहेको छ । जनचापकै कारण बस्नका लागि कोठा, खानेपानी, औषधी उपचार, दैनिक उपभोग्य लगायतका वस्तुमा हाहाकार, अभाव, ढिला सुस्ती जस्ता कुराको सामना गर्नुपरिरहेको छ । महँगी थेगी नसक्नु भएको छ । यता शहरमा अवस्था यस्तो भयावह छ । उता गाउँमा सुनसान र उजाड छ । उर्वरभूमि बाँझाबाझैं छन् । केटाकेटी र वृद्धवृद्धाभन्दा बाहेकका मानिस गाउँमा भेटिदैनन् । गाउँमा मर्दा र पर्दा चाहिने युवाशक्ति शुन्य सरह नै छ । कतिपय ग्रामीण इलाकामा महिलाहरु नै हलोजोत्न बाध्य छन् । महिलाहरुले हलो जोत्ने गर्दा गाउँमा अनिष्ठ निम्तिन सक्ने जनविश्वास पनि कायमै छ । तर पनि जोत्न बाध्य छन् महिलाहरु । अधिकांश पुरुष रोजगारका क्रममा विदेशीन बाध्य हुँदा गाउँमा पुरुषको संख्या न्यून हुने र जनसंख्या घट्ने समस्या पनि यथावतै छ ।
त्यसैले गाउँका नागरिकलाई गाउँमै राख्न शहरको जस्तै वा सोभन्दा राम्रो सेवा सुविधा पुर्याउन स्थानीय तहरले विशेष ध्यान पुर्याउनुपर्ने आवश्यक देखिन्छ ।

LEAVE A REPLY