आगामी कार्तिक २३ गते देखि त्रिभुवन विमान स्थल दैनिक १० घण्टा बन्द गरिने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गर्न दैनिक १० घण्टा उडान तथा अवतरण बन्द हुने भएको छ । आगामी कात्तिक २३ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा उडान बन्द हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच महिनासम्म उडान बन्द गरेर धावन मार्ग विस्तार गरिने जनाएको छ । चैत १८ गतेसम्म रातिको समयमा कुनै उडान नहुने प्राधिकरणको भनाइ छ ।
यो पाँच महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हरेक दिन बिहान ८ बजेपछिमात्रै खुला हुने छ । अहिले काठमाडौं विमानस्थल बिहान ६ बजे खुलेर राती २ बजेसम्म सेवा दिँदै आएको छ । काठमाडौं विमानस्थलको धावनमार्ग र त्यससँग जोडिएको ट्याक्सी वे प्रणालीका विभिन्न निर्माण गतिविधि सञ्चालन गर्नुपर्ने भएकाले विमानस्थल सञ्चालन अवधि घटाउन लागिएको अन्तर्राष्ट्रिय उड्डयनसम्बन्धी नियमअनुसार प्राधिकरणद्वारा जारी एआईपीमा उल्लेख छ ।
प्राधिकरणको यो सूचना प्रकाशित भएसँगै अब अन्तर्राष्ट्रिय वायुसेवाले आफ्ना उडानको समय तालिका फेरबदल गर्नुपर्छ । यसैका आधारमा वायुसेवाहरुले जारी भइसकेका टिकटको उडान समय फेरबदल भइसकेको जानकारी यात्रुलाई दिनुपर्छ ।

LEAVE A REPLY