सटरमा ताला लगाउदै महाानगर

 

काठमाडौ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्लायले भाडामा लगाएका सटरमा धमाधम ताला लगाउन थालेको छ। महानगरपालिकाको शिक्षा विभागले आइतबार ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ।
महानगरले रामशाहपथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा सटर, बागबजारमा रहेको सहिद शुक्र माविले भाडामा दिएका २२ वटा सटर, विजय स्मारक मावि डिल्लीबजारले भाडामा लगाएका ८ वटा सटर र पदमकन्या मावि डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको हो।
शैक्षिक क्रियाकलापका लागि उपयोग हुनु पर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरहरुमा ताला लगाएर ताला प्रधानाध्यापकहरुलाई बुझाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए। यसरी ताला लगाइएका सटरमा पुनः व्यवसाय चलाउन पाइँदैन। व्यवसायीलाई आफ्ना सामान लैजान ७ दिनको समय दिइएको छ।
‘महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको छ। यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछन्,’ दाहालले भने ।

LEAVE A REPLY