गोदावरी नगरपालिकामा हंगामा

काठमाण्डौँ । ललितपुरको गोदावरी नगरपालिकाका मेयर र उपमेयर दुवै जना निलम्वनमा परेपछि स्थानीय तहमा हंगामा मच्चिएको
छ । यस्तो घटना मुलुकमा विरलै देख्न पाइन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि दुवै जना निलम्बनमा परेका हुन् । आयोगले सो नगर क्षेत्रभित्र पर्ने लेले र नख्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन् गर्दा भ्रष्टाचार गरेको अभियोगमा मेयर महर्जनसहित चार कर्मचारी र नौ जना क्रसर सञ्चालक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुलाई एक अर्ब चार करोड विगो माग दावी गरिएको छ । स्थानीय निकायबाट भएको यो भ्रष्टाचार निकै ठूलो हो । नगरपालिकाबाट पनि यत्रो भ्रष्टाचार हुने रहेछ भन्ने देखिएको छ तर यो नै अन्तिम भने होइन । विशेष अदालतले यसको फैसला भने गर्न बाँकी रहेको छ ।
नगरपालिका क्षेत्रमा खानी तथा नदीजन्य साधारण निर्माणमुखि खनिज पदार्थहरु ढुंगा, गिढी, बालुवा लगायतको ठेक्का लगाउँदा मिलेमतोमा राजश्व चुहावट गरि भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । आर्थिक वर्ष ०७५÷७६ देखि पाँच वर्षमा एक अर्ब ४ करोड ८७ लाख ४५ हजार २८७ रुपैया राजश्व चुहावट गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख
छ ।
यसरी गोदावरी नगरपालिकाका मेयर–उपमेयर विरुद्ध अख्तियारले मुद्दा दायर हुँद्या अन्य नगरपालिकामा पनि यस्तै गरि मेयर–उपमेयरले अनियमित कार्य गरेका छन् कि यो खोजीको विषय बनेको छ । अख्तियारका अनुसार संघीय तथा प्रदेश कानून विपरीत न्यूनदरमा ठेक्का लगाएर राज्यकोषमा आउनुपर्ने राजश्व गोदावरीका मेयर–उपमेयर लगायतले चुहावट गरेका हुन् ।
गोदावरीका मेयर महर्जन र उपमेयर अधिकारी दोहोरिएर सो नगरपालिकामा आएका हुन् । मेयर महर्जन नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनलाई राम्रो मेयर भनेर चिनिए पनि भ्रष्टाचार मुद्दामा भने उनी फसेको एक स्थानीय बासिन्दाले बताए ।

LEAVE A REPLY