उपेन्द्र यादवलाई जसपा नेपालको जिम्मेवारी

काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल(जसपा)को एकता महाधिवेशन अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत रुपमा चयन गर्दै सम्पन्न भएको छ । महाधिवेशनले पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र कार्यकारणी मिति सदस्य चयन गर्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । सहमति हुनु पहिले विभिन्न पदाधिकारी, केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता भए पनि पछि सहमतिमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय कार्यकारणी सदस्य छान्ने जिम्मेवारी दिइएको हो ।

उपेन्द्र यादव राष्ट्रिय राजनीतिमा चर्चित व्यक्तित्व हुन् । यादव नेतृत्वको जसपा पटक पटक विभाजित हुँदै आएको छ । डा।बाबुराम भट्टराई, भाग्यनाथ गुप्ता, महन्थ ठाकुर, जयप्रकाश गुप्ता, अशोक राई, विजय गच्छादार, शरतसिंह भण्डारीलगायतका शीर्ष नेताहरु कुनै समयमा एउटै पार्टीमा उपेन्द्र यादवसँगै रहेका थिए । उनी बारम्बार पार्टी अध्यक्ष हुँदै आएका छन् । यस पटकको महाधिवेशनले उनको अहिलेको पार्टीमा भने उनी थप बलियो भएको देखिन्छ । त्यसो त केही दिन अघि मात्र अशोक राईले जसपा नेपाल छोडेपछि उपेन्द्र केही कमजोर बन्न पुगेको आँकलन गरिदै छ । जसपा नेपालसँग संघमा १२ सांसद रहेकोमा अशोक राईले ७ सांसद लिएर जसपा गठन गरेका छन् । सांसदको हिसाब गर्ने हो भने उपेन्द्र यादवभन्दा अशोक राई बलियो देखिएका छन् । महाधिवेशनको मुखमा वरिष्ठ नेता अशोक राईले पार्टी छोडेपछि उपेन्द्रलाई पार्टी अध्यक्ष बन्न सहज भएको देखिन्छ । अशोक बाहेक उपेन्द्रसँग टक्कर गर्ने जसपा नेपालमा कोही देखिएका थिएनन् । महाधिवेशनको मुखमा अशोक राईले पार्टी छाडे पछि महाधिवेशन हलमा उपेन्द्र यादवको कसैले पनि विरोध गरेन, पार्टीको सम्पूर्ण शक्ति उनको हातमा राखिदियो । अब उपेन्द्रले आफुले चाहे अनुसारको पदाधिकारी, केन्द्रीय सदस्य र कार्यकारणी सदस्य समेत नियुक्त गर्ने छन् । बाहिर कमजोर, भित्र पार्टीमा भने उपेन्द्र यादव थप बलियो बनेका छन् । तर उनको रणनीति कस्तो हुन्छ, त्यो भविष्यले देखाउला ।

LEAVE A REPLY