अर्थमन्त्री पौडेलद्धारा नयाँ सरकार प्रति आशावादी भईदिन निजी क्षेत्रलाई आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भईदिन निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग परिसङ्घ सीएनआई आज अर्थमन्त्रालयमा भएको छलफलमा उनले नीतिको स्थिरता र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसमा केन्द्रित भई सरकारले काम गर्ने बताए ।
“प्रधानमन्त्री चौँथो पटक भूतपूर्व प्रधानमन्त्रीको फोटो टाँस्न आएको होइन । समस्या देखेर त्यो समाधानका लागि सरकार आएका हौँ”, अर्थमन्त्री पौडेलले भने , “अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ ।” उनले समस्या मात्र नभइ समाधानका लागि निजी क्षेत्रसँगसँगै बसेर छलफललाई केन्द्रित गर्नेसमेत बताए ।
परिसङ्घको तर्फबाट सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्ने बताए । उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको उनको भनाइ थियो ।

विगत तीन वर्षदेखि उद्योग ३०÷४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको र समग्र बजार मागमा सङ्कुचन आउँदा अर्थतन्त्र चलायमान हुन नसकेको अध्यक्ष अग्रवालले बताए । परिसङ्घले अर्थतन्त्रलाई चलायमान बनाउन समग्र माग बढ्ने नीति लिनुपर्ने, पुँजीगत खर्च बढाउन सुनिश्चितता प्रदान गर्नुपर्नेमा जोड दिएको छ ।

LEAVE A REPLY