विद्युत नियमन आयोगले ६ उद्योगमा काटिएको लाइन तत्काल जोड्न नेपाल विद्युत प्राधिकरणलाई लिखित निर्देशन दिएको छ।

आइतबार बसेको आयोग बैठकले लिखित निर्देशन दिएको आयोगका सूचना अधिकारी नुतनप्रकाश शर्माले जानकारी दिए।

आयोगले उपभोक्ता संरक्षण नियमावलीको नियम १० र १३ प्रति विद्युत प्राधिकरणको ध्यानकर्षण समेत गराएको छ। नियम १० मा उपभोक्ताले पालाना गर्नुपर्ने कुनै शर्त पालना नभएको भए सोको जानकारी गराउनु पर्ने व्यवस्था गरिएको छ।

त्यस्तै नियम १३ मा मूल्य निर्धारणको मापदण्ड र बिल जारी गर्दा ध्यान दिनुपर्ने विषय समावेश गरिएको छ।

प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै केही उद्योगमा लाइन काटेको छ। यसमा विषयमा विवाद रहेको र न्यायिक समितिले दिएको प्रतिवेदनका आधारमा विवाद सुझाउन सरोकारवालाले आग्रह गरेका छन्। यो समयमा प्राधिकरणले बत्ती काटेपछि उद्योगीहरू रूष्ट बनेका थिए।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगमन्त्री दामोदर भण्डारी, ऊर्जामन्त्री दीपक खड्का, कार्यकारी निर्देशक कुलमान घिसिङ र उद्योगीहरूका तर्फबाट पशुपति मुरारका र अमित मोर लगायतसँग छलफल गरेका थिए। सो क्रममा उनले तत्काल लाइन जोड्न निर्देशन दिएका थिए। त्यसपछि नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो। यस क्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लिखित निर्देशन माग गरेका थिए।
यसअघि प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको अतिरिक्त शुल्कको बक्यौता भुक्तानी गर्न किस्ताबन्दीको सुविधा दिएको थियो।
डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरी प्राधिकरणलाई महसुल तिर्न बाँकी रहेका उपभोक्ताहरूले मासिक किस्ताबन्दीमा महसुल बुझाउन प्राधिकरणले जनाएको छ। प्राधिकरणको ९७६ औं बैठकले बक्यौता अधिकतम २८ मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने निर्णय गरेको हो।

LEAVE A REPLY