आमाले शिशुलाई स्तनपान गराउँदै ‘मोबाइल फोन’ चलाउँदा आमा र शिशु दुवैलाई बेफाईदा ः बालरोग विशेषज्ञ

चिवन । बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमा हरुलाई आग्रह गरेका छन् । विश्व स्तनपान सप्ताहको अवसरमा यहाँ आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन्
विश्व स्तनपान सप्ताहका अवसरमा कान्तिपुर हेल्थ अनलाइनद्वारा आज भरतपुरमा आयोजित ‘स्तनपानको महत्व ः चिकित्सक–पत्रकार छलफल कार्यक्रम’ मा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डां ंश्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताइन् । उनले भनिन् ‘आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएनलगायत केही कुरा पनि जानकारी हुँदैन ।’ उनले बच्चाको माया ममता पनि कम हुदै जाने बताइन् । उनले भनिन्, ‘स्तनपान गराउने समयमा शिशुलाई सुमसुमाउनु पर्छ, अन्यत्र ध्यान दिनु हुँदैन ।’ स्तनपान गराउँदा आमा र शिशु दुवैको आसनमा विशेष ध्यान दिन जरुरी रहेको बालरोग विशेषज्ञ डांं गुप्ताले बताइन् । शिशुलाई जन्मिएदेखि छ महिनासम्म आमाको दूधबाहेक पानीको आवश्यकता नपर्ने उनको भनाइ छ ।

बालरोग विशेषज्ञ डा। गुप्ताले भनिन्, ‘नियमित स्तनपान गर्ने शिशुमा निमोनिया, झाडापखाला, दम जस्ता रोगहरु लाग्ने सम्भावना कम हुन्छ ।’ बच्चाको शरीरिक विकासका लागि सकेसम्म आमाको दूध खुवाउनुपर्ने बताउँदै उनले काममा जानुपरेमा आमाको दूध सङ्कलन गरेर राखेर भए पनि खुवाउन सकिने बताइन् । उनले भनिन्, ‘आमाको दूध सङ्कलन गरेर कोठाको तापक्रममा राखेमा ४ देखि ६ घण्टा र फ्रिजमा राखे २४ घण्टासम्म खुवाउन सकिन्छ ।’ फ्रिजमा राखेरको दूध सिधैँ नतताउन सुझाव दिँदै उनले भनिन्, ‘तातो पानीमा अर्को भाडा राखेर दूधलाई तातो बनाउनु पर्छ, सिधैँ तताउनु हुँदैन ।’

 

स्तनपानले गर्दा आमालाई हुने फाइदाका विषयमा बोल्दै उनले स्तनपान नियमित गराउने आमालाई स्तन र डिम्बासयको क्यान्सर हुने सम्भावना न्यून हुने बताए । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डांं पोखरेलका अनुसार नियमित स्तनपान गराउँदा महिलामा हुने रक्तस्रावमा कमी आउने गर्दछ । बच्चा जन्मिएको एक घण्टा भित्रमै आमाको दूध खुवाउन सके सालनाल छुटिनदेखि स्तन गानिने र पिप जम्ने जस्ता समस्याबाट छुटकारा पाउन सकिने उनले बताए ।
उनले भने, ‘कम्तीमा पनि दुई वर्ष बच्चालाई आमाको दूध खुवाउनु पर्छ । जसले गर्दा आमा र बच्चा बीचको ममतादेखि हरेक कुरामा सहयोग पुर्‍याउँछ ।’ पछिल्लो समय शारीरिक सुन्दरताका लागि शिशुलाई आमाको दूध नखुवाउने गरेको पाईएको भन्दै उनले यस्तो गर्दा बच्चाको शारीरिक, मानसिक वृद्धि विकासमा समस्या पर्नुका साथै आमामा विभिन्न किसिमका समस्या देखिन सक्ने जानकारी दिए ।

 

LEAVE A REPLY