काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने बताएका छन् ।
बुधवार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
नले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरुका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने जानकारी दिए ।
उनले संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेकाले नयाँ शहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने बताए ।
‘संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेको छ । जुन तपाईंहरुले अपेक्षा गर्नुभएको छ,’उनले भने,‘यो नयाँ शहररुको बारेमा के हुँदैछ रु यो धरहराको केही दिनमै कम्प्लिट पार्ट होइन, केही पार्ट इच्छुक हुने, धरहरा चढ्न चाहनेहरुको बन्दोबस्त गर्न हामी लागिरहेका छौँ ।’
उपप्रधानमन्त्री सिंहले नयाँ संसद भवन आफू मन्त्री भएर आउँदा नै ८२ प्रतिशत काम सकिसकेको र अहिले काम जारी रहेकाले समयसीमाभित्रै काम सकेर सञ्चालन गर्ने तयारी रहेको पनि बताए ।
उनले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि आवश्यक छलफल भइरहेको पनि बताए । राजधानीलाई सुधार गर्नुपर्छ भन्नेमा आफू सहमत रहेको र त्यसको लागि काम शुरु गरिसकेको पनि बताए ।
‘फोहोरमैलाकोमा पनि उपत्यका मेयर फोरमसँग पनि कुरा पटक पटक गरिसकेको छु । सबैले प्रयोग गर्ने तर जिम्मा कोही नलिने भन्ने भइरहेको छ,’उनले भने,‘सबैको आइडिया लिइरहेका छौँ । एउटा निर्देशिका बनाएर फोहोरमैला के गर्ने भन्ने तयारी गरिरहेका छौँ । राजधानीलाई सुधार गर्नुपर्छ भन्नेमा म छु । राम्रो गर्न के गर्नसकिन्छ, म लागिरहेको छु ।’
उनले सरकारले अहिले नीति निर्माणमा नै बढी जोड दिइरहेको बताए ।








