भोजपुर दिङ्लालाई पनि पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्दछ

—गोपाल आचार्य
कोशी प्रदेशको उत्तरपूर्वी क्षेत्र भोजपुर दिङ्ला पर्यटकीय क्षेत्र घोषणा गर्न योग्य ठाउँ भएर पनि ओझेलमा परेको छ । उत्तरतर्फ, मकालु हिमालको रमणीय दृश्य, फेदीमा साल्पा पोखर, नजिकै सभा पोखरी, मजुवा बेशीमा योगमाया मन्दिर, दिङ्लामा बजारमा आवाल ब्रह्मचारी षडानन्द गुरु महाराजले स्थापना गर्नुभएको, कैलाश डाँडाको शिवजीको मन्दिर, संस्कृत पाठशाला, रामचन्द्र मन्दिर, वेद विद्याश्रम, गुरुकुल, लगायतका भौतिक दृश्यहरु रमणीय छन् । यी भौतिक वस्तुहरुको उच्च प्रबद्र्धन र सम्बद्र्धन गर्दै पर्यटक लोभ्याउन जरुरी छ । जसले दिङ्लाको शाख बढाउने र आर्थिक वृद्धि गराउने छ । तर कस्ले गर्ने यस्ता काम
दिङ्लामा पुस्तौंदेखि बस्दै आएका राई, बस्नेत, अधिकारी, चापागाई, गौतम, आचार्य लगायत प्राय सबैले दिङ्ला छोडिसके । उनीहरु कतिपयलाई मेरो पुरानो घर भोजपुर दिङ्ला हो भन्न पनि लाज लाग्न थालेको छ । कुना काप्चाबाट आएका नयाँ बस्तीलाई कसरी दिङ्लामा स्थायि रुपमा बसोबास गर्ने भन्ने चिन्ता छ । उनीहरु कतिलाई दिङ्लाको महत्वको बारेमा थाहा नहुन पनि सक्छ । जननिर्वाचित जनप्रतिनिधिहरुको पनि दिङ्ला भोजपुरलाई कसरी विकास गर्ने, गुणस्तरीय शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधारका आधार कसरी तयार पार्ने र लागू गर्ने भन्ने सम्बन्धी ध्यान गएको पाइदैन । यस्तै कारणले विकासको गतिमा भोजपुर अघि बढ्न सकेको छैन ।
त्यस्तै भोजपुर दिङ्लाको दक्षिणी क्षेत्र भोजपुर सदरमुकाम वरीपरी पनि थुप्रै ऐतिहासिक महत्वका ठाउँहरु छन् । भोजपुरको सिद्धकाली मन्दिर, पुरानो टतक्सार बजार, तिनले, सुन्तले घुर्पिसे, चित्रपुक्ष्त लगायतका स्थानहरु पनि पर्यटकका लागि लोभ लाग्दा स्थानहरु हुन् । यीनको प्रवद्र्धन र सम्वद्र्धन गर्न सक्ने राजनीतिक निकाय वा जनप्रतिनिधिको टड्कारो आवश्यकता खड्किएको छ ।
भोजपुर जिल्लाको समग्र आर्थिक विकासका लागि पर्यटन क्षेत्रको घोषणा गरी पर्यटक आउजाउ गर्न गराउन अति नै ढिलो भईसकेको छ । यसका लागि होमस्टे खोल्ने, होटल सञ्चालन गर्ने, यातायातको सुविधा सहज बनाउने लगायतका पूर्वाधार तयार पारी पर्यटकलाई सुविधा पुर्याउन पनि त्यति नै आवश्यक छ । त्यसैले अबका स्थानीय, प्रदेश र संघीय निर्वाचनहरुमा भोजपुर जिल्लाको विकासका लागि त्याग गर्न सक्ने जनप्रतिनिधि चुन्नु पनि हामी भोजपुर जिल्लवासीको दायित्व रहेको छ । भोजपुर जिल्लाबाट कर्मठ र योग्य जनप्रतिनिधि चुन्ने र चुनिएका व्यक्ति प्रधानमन्त्री वा अर्थमन्त्री नबनेसम्म दिङ्लाको विकास असम्भव छ । भावी दिनमा कर्मठ उम्मेदवार जिताउने र विकासका काममा दबाब निे दायित्व हाम्रै हो । त्यसैले आजैदेखि यसतर्फ जागरुक बनौं । यसैमा छ, भोजपुरको समृद्धि ।

LEAVE A REPLY