मुलुकलाई आवश्यकता –न्यूनतम पूर्वाधारको कि रेल, भ्यूटावर र पानी जहाजको ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकासका लहर ल्याउने क्रममा आफु पहिलो पल्ट प्रधानमन्त्री हुँदा देखिनै देशको पूर्व–पश्चिम, उत्तर–दक्षिण जोड्ने रेल निर्माण, भ्यूटावर निर्माण, पानी जहाज सञ्चालन जस्ता भौतिक निर्माणको विकास गर्न जोड दिँदै सम्बन्धित निकायलाई निर्देशन दिदै आउनुभएको छ । तर कर्मचारी संयन्त्र भने यस्ता पूर्वाधार निर्माण गर्न उदासिन छ । आखिर किन उदासीन भयो त कर्मचारी संयन्त्र ? प्रधानमन्त्रीको निर्देशनप्रति चित्त नबुझेर होय, या बजेट अभावमा हो ? कारण पत्ता लगाउन आवश्यक देखिएको छ ।
प्रस्तावित रेल मार्गका लागि मात्रै ३५ खर्ब ५१ अर्ब रुपैया लाग्ने एक अध्ययनले अनुमान गरेको छ । भ्यूटावर निर्माण र पानी जहाज सञ्चालनमा पनि ठूलो रकम खर्च हुने अनुमान छ । राज्यले यति ठूलो खर्च गरेर यस्ता भौतिक साधन र विकास निर्माण गर्नु त राम्रै कुरा हो । तर देशका विकट, दुर्गम जिल्लाहरुमा न्यूनतम पूर्वाधार तयार,पार्न कृषि उपजमा तेव्वरवृद्धि, गाउँ भरिभराउ, स्वास्थ्य, शिक्षा, गाँस, बास र कपासको दरिलो व्यवस्था, खोला, खोल्सामा पक्की पुल, गाउँगाउँमा गुणस्तरीय अस्पताल लगायतका न्यूनतम पूर्वाधार पुरा भएपछि मात्रै रेल, पानी जहाज र भ्यूटावरको आवश्यकतामा ध्यान दिनु उचित देखिन्छ । अहिले न्यूनतम पूर्वाधार समेत गाउँघरमा नहुँदा एक गाउँबाट अर्को ठाउँ जादा खोला खोल्साले बगाउने, कतिपय ठाउँमा जंधार तर्न पनि नसक्ने ठाउँका विद्यार्थी वर्षाको समयमा विद्यालय जानबाट बन्चित हुनुपर्ने, गुणस्तरीय अस्पतालको अभावमा विरामीले सिटामोल खान पनि नपाएर अकालमै मर्नुपर्ने दीन दुःखीहरुले एक छाक पेटभरी खान नपाउने, भूकम्प, बाढी र पहिरो पीडितले खुला आकाशमुनी रात गुजार्नुपर्ने, विद्यालयहरुमा योग्य शिक्षक नभएर उच्च शिक्षाको ढोकासम्मै पुग्न नपाउने लगायतका समस्या र दुःख दुर्गम र सुगम क्षेत्रकै कतिपयले झेल्नु परिरहेको छ ।
सरकारले यूवा पिँढीलाई स्वदेशमै रोजगारी दिन नसक्दा र विद्यार्थीलाई उच्च शिक्षा अध्ययनपछि के गर्ने भन्ने बारे भविष्य देखाउन नसक्दा रोजगारी र पढाइको शिलशिलामा विदेश पलायन हुनेको संख्या गुणात्मकमा वृद्धि भैरहेको छ । गाउँ–शहर सबै शुन्य जस्तै हुन लागिसकेको छ । गाउँघरमा बुढा–बुढी र केटाकेटी बाहेक कोही भेटिदैनन् । उनीहरुबाट समृद्धिको अपेक्षा गर्न सकिदैन । समृद्धिको अपेक्षा गर्ने भनेको नवयुवा र शिक्षित वर्गबाट हो । सरकारले विदेशीन रोक लाउन नसक्दा समृद्धिका लागि चाहिन युवा र शिक्षित वर्ग सबै विदेशीन बाध्य भईरहेका छन् । एकातिर विदेशीन चाप बढ्दो छ, अर्कोतिर स्वास्थ्य र शिक्षा महँगो भएका कारण हरेक दम्पतीले १ वा २ भन्दा बढी सन्तानलाई जन्म दिन छोडिसके । यो अवस्थाले जनसंख्या स्वात्तै घटेको छ । विवाहित नवजोडी पनि विवाह गरेर वर्षौसम्म वैदेशिक रोजगारीमा जाँदा एउटा, दुईटा सन्तानको जन्मदिन पनि ढिलो भैरहेको अवस्था छ । यस्तो दयनीय अवस्थामा किन चाहियो रेल ? किन चाहियो पानी जहाज? देशमा उत्पादन गर्ने जनशक्ति नै नभए पछि निर्यात गर्ने कृषि उपज नै हुँदैन । कुनै कलकारखानामा निर्यात गर्ने वस्तु नै उत्पादन नै हुँदैन अनि के हालेर रेल र पानी जहाज सञ्चालन गर्ने त ? के रित्तै गुडाएर र आयात मात्रै गरेर देशमा समृद्धि आउछ त ? यस्ता विषयमा देशको बागडोर लिने जोसुकैले पनि ध्यान पुर्याउन आवश्यक छ ।
गाउँघर, शहर बजार जहाँसुकै पनि सडक गुणस्तरीय र सवारी साधन नयाँ नहुँदा दिनहुँ जस्तै दुर्घटना भैरहेका छन् । दुर्घटनामा परेर दिनहुँ जसो मानिसहरुले ज्यान गुमाइरहेको छ भने धेरैको संख्यामा घाइते भइरहेका छन् । यस्ता कुराप्रति मध्यनजर गर्दै पहिले पूर्वाधार दरिलो रुपमा खडा गर्ने र समृद्धिले बाटो लिन थालेपछि मात्रै ठूलाठूला योजना ल्याउने तर्फ जोड दिनु बुद्धिमानी देखिन्छ । अहिलेको टड्कारो आवश्यकता भनेको गाउँघरमा पूर्वाधार खडा गरी त्यसमा गुणस्तरीयता थप्दै जानु हो ।

LEAVE A REPLY