बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य
गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका कारण उपत्यका भित्र रहेका सर्वसाधारणले दशैंमा बीपी राजमार्ग हुँदै सहज रुपमा घर जान सकेनन् । अन्य राजमार्ग हुँदै उपत्यकाबाट दशैंका लागि बाहिरिएका यात्रुहरु दशैं सकिए लगतै काठमाडौं भित्रिने क्रम जारी छ । बाढीले बगाएको र पहिरोले पुरेको सो सडकमा मर्मत गर्दै सानाठूला सवारी साधन चलाउन थालेपछि पूर्ण रुपमा मर्मत हुन केही समय लाग्ने भएकाले यात्रुहरु कष्टकासाथ सो राजमार्ग प्रयोग गर्दै काठमाडौं उपत्यका छिरिरहेका छन् ।
सिन्धुलीबाट काठमाडौं आइपुग्न करिब ४ घण्टा लाग्ने समयमा करिब १०–१२ घण्टा समय लाग्ने गरेको छ । बाटो ग्रावलिङ र कतै कच्ची र साँघुरो भएका कारण साना ठूला गाडी सहज रुपमा गुड्न नसकेको कारण यात्रुहरु गाडी भित्रै भोकभोकै बस्नु परेको छ । ओखलढुङ्गाबाट बिहान ६ बजे गाडी चढेका यात्रुहरु अपराह्नसम्म पनि काठमाडौं आइपुग्न नसक्ने अवस्था छ । ओखलढुङ्गाबाट काठमाडौं आइपुग्न सामान्यतया ५÷६ घण्टा लाग्ने भए पनि अहिले १०–१२ घण्टा लाग्ने गरेको छ ।
बीपी राजमार्ग अन्र्तगत काभ्रेको भकुण्डेबेसीदेखि नेपालथोकसम्म रोशीखोलाको १० किलोमिटरभन्दा बढी खण्ड असोज दोस्रो साता आएको बाढीले भत्काए पछि करिब २ साता बन्द भएको राजमार्ग नयाँ ट्रयाक खोलेर सञ्चालन गरिएको छ । उकालोमा गाडी नगुड्ने भएपछि ठेल्नुपर्ने, यात्रु ओर्लदै गर्नुपर्ने, जस्ता सास्ती खेप्नु परिरहेको छ । दशैं, तिहार जस्ता चाडपर्वमा त्यसै पनि व्यस्त हुने बीपी राजमार्ग यो वर्ष अविरल वर्षाका कारण आगमन अवरुद्ध भयो । कतै ट्रयाक खोलेर यातायात सञ्चालन ल्याइएको छ भने कतै एकतर्फी मात्रै यातायात सञ्चालन गर्नुपरेको अवस्था छ । बर्दीवासदेखि धुलिखेलसम्म १६० कि।मी। रहेको बीपी राजमार्गमा बर्दीबासदेखि खुर्कोटसम्म खासै समस्या देखिएको छैन । त्यसयता मात्र समस्या
छ । मुलकोटदेखि नेपालथोकसम्मको खण्डमा ठाउँठाउँमा पहिरो झरेर आगमन एकतर्फी गरिएको छ । त्यसबीचमा कतै कतै मात्र राजमार्ग सग्लो छ । खुर्कोटबाट रामेछाप तर्फ जाने पक्की पुलनै बाढीले भत्काई दिएपछि काठमाडौं देखि रामेछाप यात्रा गर्न नै समस्या देखिएको छ ।

 

LEAVE A REPLY