काठमाडौं । नेकपा एमालेले कीर्तिपुरमा रिक्त मेयर र वडाध्यक्षमा उम्मेदवारी दिएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै वडा नम्बर १ को वडाध्यक्षका लागि हर्ष महर्जन र वडा नम्बर ४ का लागि बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनले समेत उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै नेमकिपाको तर्फबाट वडा नम्बर १ मा कृष्णप्रसाद महर्जन र वडा नम्बर ४ मा महेश्वर सुवेदीले मनोनयन दर्ता गराएका छन । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत मेयर र २ वडाध्यक्षमा उम्मेदवारी दिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराए । त्यस्तै वडा नम्बर १ मा सुरेन्द्रप्रसाद उप्रेती र ४ को अध्यक्षमा विजेश बस्नेतले मनोनयन दर्ता गराएका छन् ।
यस्तै मंसिर १६ को स्थानीय तह उपचुनावको लागि कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रोलिंगी दीपक महर्जन हनि र वडाध्यक्षमा राजीव महर्जन मौनी ले समेत मनोनयन दर्ता गराएका छन् । उनीहरूलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल जसपाले टिकट दिएको हो ।
यौनिक तथा लैङ्गिक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनिलाई मेयर र मौनीलाई ४ नम्बर वडाध्यक्षको उम्मेदवार बनाइएको हो । राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिताका लागि उनीहरूलाई अघि सारिएको जसपाले जनाएको छ ।
यस्तै कीर्तिपुर नगरपालिकाको प्रमुख मेयर पदमा स्वतन्त्र उम्मेदवार राजमान महर्जन ‘मानव’ ले पनि मनोनयन दर्ता गराएका छन् ।
उनले आज कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् । सफाइ अभियन्ता तथा सामुदायिक कार्यकर्ता मानव नेवा लहना रेस्टुरेन्टका अध्यक्ष एवं सञ्चालक हुन् । उनलाई कीर्तिपुरको मेयरमा प्रतिस्पर्धी उम्मेदवारका रुपमा हेरिएको छ ।
मंसिर १६ गते देशका ४४ वटा स्थानमा उपनिर्वाचन हुँदैछ । जसमध्ये तीन वटा स्थान कीर्तिपुरमा परेको छ ।