—गोपाल आचार्य
पछिल्लो समय मुलुकमा भ्रष्टाचार व्याप्त हुँदै गएको छ । जो जुन सुकै दल नेतृत्वको सरकार आए पनि भ्रष्टाचार नियन्त्रण गर्न सकिरहेको छैन । बोलीमा भ्रष्टाचार नियन्त्रण गर्ने र भ्रष्टाचारीलाई कडा कारवाही गर्ने भनिए पनि बोलीमै सिमित भएको छ । व्यवहारमा लागु भएको छैन ।
राजनीतितर्फ हेर्ने हो भने कुनै दलको नेता हुन र संसदमा उम्मेदवारी पाउन दलको अध्यक्षलाई रिझाउनु पर्दछ । अध्यक्ष निर्वाचित हुनदेखि समानुपातिकमा समावेश हुन मोटो थैली र दललाई चन्दा नदिएसम्म उसले राजनीतिमा च्याउनै पर्दैन । दललाई चन्दा र अध्यक्षलाई घुस दिए पश्चात सांसद हुँदै मन्त्री बनेपछि उसले बाध्य भएर गरेको लगानी उठाउनै पर्दछ । त्यसका लागि उसले पदीय दुरुपयोग गर्दै भ्रष्टाचार गर्नेतर्फ ध्यान केन्द्रीत गर्दछ । पाएसम्म र मिलेसम्म भ्रष्टाचार गर्दा लाखौं, करोडौंसम्मको भ्रष्टाचार गर्न पुग्दछ । उसलाई जनताका काम गर्न भन्दा पनि पहिले गरेको लगानी असुल गर्न हतार पर्न थाल्दछ । मुलुकमा विकासको बाधक नै भ्रष्टाचार बनेको छ ।
त्यसैगरी सरकारी र निजामति कर्मचारी बन्नका लागिसामान्य खरदार, नासुदेखि उच्च तहका कर्मचारी बन्न पनि सम्बन्धित कार्यालयका कार्यालय प्रमुखदेखि मातहतका मन्त्री मन्त्राणीहरुलाई पद अनुसारको थैली अग्रिम नबुझाए जागिरमा प्रवेश नै पाउँदैनन् । लोक सेवामा सफल भए पनि अन्र्तवार्तामा असफल नै परिरहन्छन् । लोकसेवा परिक्षामा लिखितम पास हुने व्यक्ति अन्र्तवार्तामा अपवाद बाहेक प्राय सबै नै पास हुनुपर्ने हो तर पावर र पैसाका भरमा योग्य व्यक्ति छायाँमा पर्ने र अयोग्य व्यक्तिले मौका पाउने परिपाटी नयाँ नभएर पुरानै हो । त्यसैले पदमा पुगेको व्यक्तिले अनुशासनमा रहेर तोकिएको जिम्मेवारी इमान्दारी पूर्वक नगर्दा भ्रष्टाचार मौलाउँदै गएको हो भन्ने भनाई समाजमा रहीआएको छ ।
माथिल्लो तहकालाई घुस नखुवाइकन राजनीतिमा प्रवेश गर्न पाउने र कर्मचारीले नियुक्ति पाउने व्यवस्था लागू गर्ने हो भने भ्रष्टाचार हुँदैन । त्यस्तो अवस्थामा पनि भ्रष्टाचार हुन्छ भने त्यसलाई नियति नै मान्नु पर्दछ । तर अहिले घुस खानु बाध्यता नै भएको छ । त्यसैले सबै तहमा भ्रष्टाचार नियन्त्रण गर्ने हो भने मन, बचन र कर्मले माथिल्लो तहमा नै भ्रष्टाचार नियन्त्रण गर्नु आवश्यक छ । यस अर्थमा भ्रष्टाचार तलबाट माथि होइन, माथिबाट तलसम्म भएको छ । माथिका सुध्रिए, तल आफै सुधार हुँदै जान्छ । जस्तो कुनै घरमा अभिभावक फटाहा छ भने उसका घरका सबै सदस्य फटाहानै देखिन्छन् । घरमा अभिभावकको नियत ठीक छ भने सदस्य पनि ठीक हुन्छन् ।









