सुदूरपश्चिम रोयल्स र सूर्य प्लाईबीच प्रायोजन सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले सूर्य पलाईसँग प्रायोजन सम्झौता गरेको छ ।
रोयल्सले स्ट्रेन्थ पार्टनरको रुपमा सूर्य प्लाईको साथ पाएको हो । सूर्य प्लाईको तर्फबाट सवारागी प्लाईवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सवारागी र रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि सिइओ खड्काले रोयल्सलाई साथ दिने संस्थालाई समर्थकबाट पनि उत्तिकै साथ मिल्ने विश्वास व्यक्त गरे । ‘प्लाईवुड क्षेत्रमा अग्रणी रहेको सूर्य प्लाई नम्बर १ संस्था हो । सुदूरपश्चिम नेपाली क्रिकेट समर्थकमाझ निकै लोकप्रिय रहेको अवस्थामा समर्थकहरुले एनपिएलको सुरुवाती चरणमा लगानी गरिरहेको संस्थाहरुलाई आफ्नो स्थानबाट साथ दिनुहुनेछ भन्ने आशा छ,’ खड्काले भने ।

प्रबन्ध निर्देशक सरावगीले नेपाली खेलकुद विकासका लागि एनपिएलले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै सूर्य प्लाईको साथ रहने विश्वास दिलाए । ‘सुदूरपश्चिम रोयल्ससँग हातेमालो गर्न पाउँदा निकै खुसी छौं । खेलकुद विकासमा हामी सधैं सकारात्मक छौं र म आफैं पनि कुनै समय मेचीको प्रतिनिधित्व गर्दै टुडिखेलमा क्रिकेट खेलेको थिएँ । खेलकुदको विकासका लागि निजि क्षेत्रको आवद्धता हुनुपर्ने बुझेर नै हामीले रोयल्ससँग हातेमालो गरेका हौं,’ उनले भने ।

सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दिपेन्द्र सिंह ऐरी रहनुभएको छ । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा हुनुहुन्छ । रोयल्सले आफ्नो कोटाका ४ विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ ।

ब्रान्डन मक्मलेन स्कटल्यान्ड, सेफ अलि जेब इंग्ल्यान्ड स्कट कुगेलेइन न्युजिल्याण्ड र रोहन मुस्तफा यूएई लाई टिममा समावेश गरेको छ ।

 

 

LEAVE A REPLY