काठमाडौंं पशुपति विकाश क्षेत्रका प्रवक्ता रेवतीरमण अधिकारीले बाला चतुर्दशी पर्वका अवसरमा पितृका नाममा बत्ती बाल्नेका लागि पशुपति क्षेत्र विकास कोषले दुई हजार १०० का दरले शुल्क लिएर राति बत्तिकुर्न नसक्नेका लागि बत्ति कुरीदिने व्यवस्था गर्न लागेका ेबताउनु भएको छ ।
‘बत्ती बालेर आफू कुर्न नसक्नेका लागि शुल्क लिएर कोषका कर्मचारीले कुर्ने व्यवस्था गरेका हौँ’, उनले भने, ‘विदेशमा रहेका व्यक्तिका लागि पनि बढी उपयोगी हुने ठानेर यो व्यवस्था गरेका हौँ।’ यो शुल्क कोषको आम्दानीका लागि नभएर बत्ती, पाला, तेल, संकल्प गराउने र कुर्ने व्यक्तिका लागि खर्च हुने उनले बताए।
बत्ती बाल्ने प्रयोजनका लागि शुक्रबार दिउँसो २ बजेदेखि कैलाश डाँडामा प्रवेश गराउने व्यवस्था मिलाएको कोषले जनाएको छ।
यसैगरी यो वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न प्रतिबन्ध गरेको छ। विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान शतबीज छर्न आउनेहरूलाई असहज भएपछि यो वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ। भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए।
तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानूनी कारबाही गर्ने निर्णय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको व्यवस्थापन बैठकले गरेको उनले जानकारी दिए।
बाला चतुर्दशीका लागि नेपाली सेनाले पाँचवटा ठूला पाल उपलब्ध गराएको छ। पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिराको बिक्री वितरणमा रोक लगाइएको छ।
पशुपतिनाथको मेलाका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ। यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०लाई अनुरोध गरेको कोषले जनाएको छ।
मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुली व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत तयारी पनि पूरा भएको कोषले जनाएको छ।
मार्गशीर्ष कृष्ण त्रयोदशीका राति बत्ती बालेर जाग्राम बसी भोलिपल्ट बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्ने चलन छ। यो वर्ष शुक्रबार बत्ती बाल्नुपर्ने र शनिबार बिहान शतबीज छर्नुपर्ने पञ्चांगमा उल्लेख छ।