हाम्रो समाजमा तीन आर्थिक अवस्थाका मानिसहरु बस्ने गरेका छन् । सम्पन्न, अर्धसम्पन्न र गरिबीको रेखामुनी रहेका । सम्पन्नलाई जस्तो सुकै जाडो होस् वा गर्मी, त्यसलाई आफु अनुकूलको वातावरण ल्याउन सक्ने हैसियत राख्न सक्छन् । बाहिर फेर हिड्दा न्यानो लुगा र घरमा बस्दा एयर कण्डिसन । अर्धसम्पन्नले पनि सामान्यतया न्यानै लगाउने र न्यानै गरी सुत्ने हैसियत राख्दछन् । तर समस्या हुन्छ गरिब वा विपन्न गरिबलाई । गरिबहरु खान लगाउन समस्यामा परेका हुन्छन् । बिहान खायो बेलुका के खाउ र बेलुका खायो बिहान के खाउ भन्ने अवस्थाका व्यक्तिहरु हरेक बस्ती र टोलहरुमा पाइन्छन् । उनीहरुलाई लाउने न्यानो कपडा र सुत्दा ओड्ने ओछ्याउने न्यानो कपडाको अभाव सृजना भइरहेको हुन्छ । त्यस्तो अभावले केटाकेटी र वृद्धवृद्धालाई बढी मार पारेको हुन्छ । कपडा अभावकै कारण चिसोले कठ्याङग्रीएर धेरै बालबालिका र वृद्धवृद्धाले मृत्युवरण गर्नु परिरहेको छ । यस्तो अवस्थाको अन्त्य गरिनु आवश्यक भएको छ ।
एक हप्तायतादेखि चिसो ह्वात्तै बढेको छ । १५ डिग्रीभन्दा तल तापक्रम पुगेपछि निकै चिसो हुने गरेको छ । एक साता यता तापक्रम ह्वात्तै घटेर ६ डिग्रीको हाराहारीमा आइपुगेको छ । माघ महिनासम्म चिसो बढ्दै जाने र तत्पश्चात गर्मी सुरु हुँदै जान थाल्दछ । त्यसैले विपन्न वर्गका व्यक्तिहरुको न्यानोको लागि दाता, संघसंस्था र सम्पन्न तथा अर्थसम्पन्न परिवारले विपन्न वर्गका लागि न्यानो लुगा र ओढ्ने ओछ्याउने अनि तातो खाने व्यवस्था मिलाइदिनु आवश्यक छ । न्यानो लाउने र तातो खाने मानिसको नैसर्गिक अधिकार हो । त्यसैले यस्तो अधिकारबाट उनीहरुलाई पछि पार्नु हुँदैन ।
चिसो बढेकै कारण लेकबाट बेंसी झर्ने क्रम बढीरहेको छ । अर्थ सम्पन्न तथा सम्पन्न परिवारले चिसोबाट बच्ने परिबन्ध मिलाइसके तर विपन्न भने जाडोले कामीरहेका छन् । केही दशक अघिसम्म नेपालको हावापानी दक्षिण एसियाकै उत्कृष्ट देशभित्र पर्ने गरेको थियो तर अहिले विश्वकै सबैभन्दा प्रदुषित ६ वटा देशको सूचीमा नेपाल पनि परेको छ । जसले गर्दा नेपालको मौसममा पनि निकै परिवर्तन आइरहेको छ । जाडोमा निकै जाडो र गर्मीमा निकै गर्मी हुने गरेको छ । त्यसले गर्दा गरिब विपन्न व्यक्तिहरुका लागि जाडो छल्ने बन्दोबस्त गर्न सरकारले आवश्यक ध्यान दिनुपर्ने देखिन्छ ।