कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त, अझै विभागीय प्रमुख भने नियुक्त हुन बाँकी

काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्ष आकर्षक पद हो । तर १४औं महाधिवेशन भएको तीन वर्षसम्म कोषाध्यक्ष पद रिक्त थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वर्षपछि बल्ल पार्टी कोषाध्यक्ष नियुक्त गरेका छन् । स्मरण रहोस् कांग्रेसको महाधिवेशन २०७८ साल मंसिरमा काठमाडौंमा भएको थियो । कांग्रेस पदाधिकारी मध्ये एक मात्रै मनोनित पद कोषाध्यक्ष विधानतः ६ महिनाभित्र मनोनयन भइसक्नु पर्ने थियो । सभापति देउवाले भने विधानले दिएको चार वर्षे कार्यकाल सकिन एक वर्ष मात्रै बाँकी रहँदा बल्ल पदाधिकारीलाई पूर्णता दिएका छन् । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री उमेश श्रेष्ठलाई सभापति शेरबहादुर देउवाले कोषाध्यक्षको जिम्मेवारी दिनुभएको हो । यसअघि श्रेष्ठ पार्टीको कृषि विभाग प्रमुख समेत थिए । कांग्रेसमा छोटो सक्रियतामै महत्वपूर्ण जिम्मेवारी हासिल गर्ने नेतामध्ये श्रेष्ठ पर्छन् ।
त्यसो त कांग्रेसको केन्द्रीय समितिले अझै पूर्णता पाउन बाँकी छ । सभापति देउवाले विधानको अधिकार अनुसार अझै केही केन्द्रीय सदस्य, अधिकांश विभाग र त्यसका सदस्यहरु चयन गर्न बाँकी छ । गठन भएका सबै विभागले पूर्णता पाइसकेका छैनन् । त्यसो त १४औं महाधिवेशनका क्रममा टिम मिलाउन गाह्रो हुने भएपछि सभापति देउवाले पार्टीका आधा दर्जन बढी नेतालाई कोषाध्यक्ष बनाउने आश्वासन दिएको बुझिएको छ ।
त्यस्तो आश्वासन पाउनेमा पूर्वकोषाध्यक्ष चित्रलेखा यादव केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, विनोद चौधरी, पुष्पा भुषाल, सुनिल थापा लगायतका नेताहरु थिए । लामो समयदेखि देउवाको विश्वासको पात्रको रुपमा नवनियुक्त कोषाध्यक्ष श्रेष्ठ रहेका थिए । श्रेष्ठ २०६४ सालमा मन्त्रिपरिषदको कोटामा संविधान सभा सदस्य भएका थिए । २०७४ सालमा समानुपातिकबाट सांसद बनेका श्रेष्ठ कांग्रेसको कोषलाई पारदर्शी र सुदृढ बनाउने आफ्नो जिम्मेवारी रहेको बताउँछन् ।

LEAVE A REPLY