काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूलमन्त्र भएको बताएका छन्।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज आयोजना गरेको ‘राजनीतिमा प्रतिनिधित्व र पहुँच अभिवृद्धिका लागि आदिवासी जनजाति महिला’ राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायको जीवनस्तर माथि उकास्न संविधानले सुनिश्चित गरेको मौलिक हकको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले आदिवासी जनजाति र सबै महिलाको अधिकार स्थापनाका लागि विशेष महत्त्व दिँदै आएको उल्लेख गरे। उनले हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरे।








