काठमाडौँ , पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई रातारात एक ठाउँबाट अर्को ठाउँमा सारिनु मानवअधिकारको उल्लंघन भएको बताएकी छन्।
उनले हिरासतमा राखेका लामिछानेलाई २, २ दिनमा अदालत बदल्दै हिँडाउनु र राति सुतिरहेको वेला उठाएर हिँडाउनु पनि मानवीयता नभएको स्पष्ट पारेकी छन्।
उनले भनिन्‚ ‘एउटा मान्छेलाई २,२ दिनमा अदालत परिवर्तन गराइरहेको छ। हाजिर गराइरहेको छ एउटै मान्छेलाई। त्यो मान्छेको मानवअधिकार कहाँ गयो? प्रत्येक दिन कहिले राति उठाएर निद्रामै कुदाएको छ कहिले चाहिँ सुतिरहेको मान्छेलाई उठाएर हिँडाएको छ‚ कुदाएको छ। यो अड्डामा हाजिर गराको छ‚ त्यो अड्डामा हाजिर गरा छ।’ उनलेसरकारले लामिछानेको मानवअधिकार हनन हुने गरी काम गरिरहेको पनि स्पष्ट बताइन्।
अदालतमा मुद्दा नआइपुग्दासम्म अदालतले केही गर्न नमिल्ने पनि उनको तर्क थियो। न्यायालयले उचित न्याय दिने उनको कथन छ। अपवादमा कोही न्यायाधीशलाई छोडेर सबै न्यायाधीशले न्याय दिने उनले बताइन्।
उनले भनिन्‚ ‘तर सरकारले के गर्या छ? एउटा मान्छे कतिवटा अदालतमा कुदिसक्यो‚ कति महिना कुदिरा छ। त्यो त अति भयो। हेर्दाखेरी हामीलाई पनि लाज शरम आउन थाल्यो। यो त हदै भयो।’
लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्। उनलाई अनुसन्धान गर्ने क्रममा काठमाडौँ‚ पोखरा‚ बुटवल‚ चितवन र पर्सामा बयान लिइएको छ।








