।
हाम्रो समाजमा छोराछोरीको उज्ज्वल भविष्यका लागि खाई नखाई सम्पत्ती थोपरी दिने चलन छ । आफ्नो शेषपछि छोराछोरीले दुःख पाउलान् भनेर छोरीलाई विवाहमा दाइजो दिने र छोरालाई श्रीसम्पत्ती जोडिदिने चलन छ । अहिलेको जमानामा छोराछोरीको भविष्यका लागि भनेर खाइनखाई गरेर सम्पत्ति जोड्ने काम त्यति राम्रो मानिदैन । किनभने अरु वा बाबुआमाले जोडिएको धनले छोराछोरीलाई पुग्दैन । धेरै धनसम्पत्ती जोडिदिए छोराछोरीको बानी समेतमा नकारात्मक असर पर्दछ । कुलतमा लाग्ने, दुःख के हो र सो आइपरेमा त्यसको सामना कसरी गर्ने भन्ने ज्ञानको कमी आउँदछ । त्यसैले सम्पत्ति आर्जन गरी दिन पट्टि लाग्नुभन्दा क्षमता अनुसारको गुणस्तरीय शिक्षा दिने प्रयत्न गर्न पछि लाग्नु बुद्धिमानी देखिन्छ । गुणस्तरीय शिक्षाले बदलिदो परिस्थितिलाई बुझ्न सक्ने बनाई त्यसै अनुसार चल्न पनि अभिप्रेरित गराउँदछ ।
समाजमा अझै सुधार ल्याउने हो भने पैतृक सम्पत्तीमा सन्ततीको अधिकार नलाग्ने र आफ्नो शेषपछि राज्यको हुने र राज्यले पनि योग्यता क्षमता अनुसारको काम दाम दिने र नागरिकको जीम्मा लिने कानून बनाउनु पर्दछ । अहिले सन्ततीकै लागि भनेर ठूला ठूला पदमा पुग्ने र ओहदामा रहेकाहरुले भ्रष्टाचार गरेर अकुत सम्पत्ति थुपार्ने गरेका छन् । जसका कारण जहाँ जुनसुकै पदमा पुग्नेले भ्रष्टाचार गर्दा बेथितिले सिमा नाघि सकेको छ । पैतृक सम्पत्तीका कारण दाजुभाइबीच झगडा हुने, काटमार चल्ने, पानी बराबरको स्थिति सृजना हुने समेत गरेका छन् ।
छोरालाई अंश दिने र छोरीलाई पराईको घरमा पठाई दिने, अंश वा दाइजो नदिने विभेदपूर्ण नेपालको कानून छ । यो कानूनले गर्दा छोरीले पैतृक सम्पत्ती पाएका छैनन् । त्यसैले सन्ततीलाई गुणस्तरीय शिक्षा दिने र पैतृक सम्पत्तीमा आशक्त नबनाउने नीति राज्यले बनाउन सक्नु पर्दछ । पैतृक सम्पत्ती राज्यको नाममा जाने भएपछि, न त भ्रष्टाचार हुन्छ, न त पूजिपतिका छोराछोरीमा विकृतिपन नै आउँछ । यस्तो अवस्थाको विकास गर्न पद र ओहदामा पुग्नेहरुले पहल गर्न आवश्यक छ ।









