नेपाली भन्सार अनियमितताको केन्द्रभएकोभन्दै सांसदहहरु चिन्तित

काठमाडौँ , प्रतिनिधिसभाका सांसदहरूले नेपालका भन्सार कार्यालय अनियमितताको केन्द्र बनेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
बिहीवार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसदहरूले भन्सारसम्बन्धी विधेयकलाई कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा विचार राख्ने क्रममा नेपाली भन्सार अनियमितताको केन्द्र बनेको बताएका हुन्।
समितिको छलफलमा सांसदहरूले अनियमितताका लागि तथ्यांक राख्ने, सर्भर बिगार्ने‚ सामान जाँच्ने एक्सरे मेसिन बिगार्नेसम्मको काम गर्ने गरेको बताए।
भन्सारका कर्मचारीहरूको व्यवहार सेवाग्राहीमैत्री नभएको आरोप पनि सांसदहरूले लगाएका छन्। समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद पदम गिरीले भन्सारका मेसिन बिग्रिनु भनेको भ्रष्टाचार बढ्ने माध्यम बनेको बताए। एकपटक बिग्रिएको मेसिन वर्षौंसम्म नबन्नु भनेको भ्रष्टाचार गर्ने नियत भएको बताए
बैठकमा नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेर समितिले काम गर्नुपर्ने बताए।
समितिको बैठकमा नेकपा माओवादी केन्द्र का सांसद छिरिङ डन्डुल लामाले कर लिएर सुन ल्याउन पाउनुपर्ने व्यवस्था हुनैपर्ने बताए। सुनमा कडाइ गर्नाले अवैध ओसारपसार बढेको र राजस्व पनि गुमेको तर्क गरे। सरकारले कडाइका साथ कर लिएर सुन, गाँजा, मदिरा, रक्तचन्दनको ओसारपसार गर्न पाउने सुविधा दिनुपर्ने बताए।

बैठकमा सांसदद्वय ज्ञानबहादुर शाही र गंगा कार्कीले भारतीय गाडीको नेपाल प्रवेश र असीमित समय बस्न पाउने सुविधाले नेपाली व्यवसायीको रोजगारी गुमेको आरोप लगाए। नेपाली भूमिमा भारतीय गाडीको मनोमानी रोक्नुपर्ने बताए।

बैठकमा सांसद भगवती चौधरीले भन्सार महसुल र करको कारण उपभोग्य सामान नेपालमा महँगो हुने र सीमावर्ती भारतीय बजारमा सस्तोमा पाइने भएकाले सीमावर्ती क्षेत्रका नेपालीहरू भारतीय बजारमा जाने गरेको विषय सबैले बुझ्नुपर्ने बताइन्। भन्सार महसुल कम नगरेसम्म सीमावर्ती नेपाली बजार चल्न नसक्ने उनले स्पष्ट पारिन्।

 

 

LEAVE A REPLY