रौतहटमा शीतलहर ः जनजीवन प्रभावित, विद्यालयहरू धमाधम बन्द

गौर ,रौतहट दगायत तराई–मधेशका जिल्लाहरुमा लगातार २ दिनदेखि चलेको शीतलहरले जनजीवन प्रभावित भएको छ।बाक्लोशीतले सर्वसाधारणलाई घरबाहिर निस्किन कठिन बनाइएको हो।
मंगलवार विहान गएको भुइँचालोअगाडि मौसम सामान्य रहे पनि त्यसपछि अचानक मौसम फेरिएर चिसो बढ्न थाल्यो। मंगलवार शुरु भएको शीतलहर बुधवार पनि निरन्तर चलिरहेको छ।
चिसोका कारण रौतहटको जनजीवन प्रभावित बन्नुका साथै दैनिक कामकाज गरेर जीवन गुजारा चलाउने वर्ग थप समस्यामा परेको छ। २ दिनदेखि बढेको अत्यधिक चिसोका कारण सर्वसाधारण कठ्याँग्रिएका छन्। चिसोले विशेषगरी श्रमिक वर्ग र न्यून आय भएका समुदायलाई गम्भीर असर गरेको छ।
‘चिसोमा बाहिर निस्किनै सकिँदैन, काम गर्न त झन् गाह्रो छ। आगो तापेर दिन बिताउनुबाहेक अरु विकल्प नै छैन,’ माझीले भने।
उनीजस्तै धेरै मजदुर परिवार अहिले दाउरा खोज्दै जंगलतिर भौँतारिएका छन्। चिसोले दलित र सीमान्तकृत समुदायमा थप समस्या निम्त्याएको छ।

रौतहटका कतिपय गरिब तथा दलित बस्तीमा ओढ्ने ओछ्याउनेको अभावले मानिसहरु आगो तापेर रात काट्ने गरेको पाइन्छ। बालबालिका र वृद्धवृद्धामा चिसोको कारण विरामी हुने जोखिम बढेको स्वास्थ्यकर्मीहरुको भनाइ छ।

चिसो बढ्दै जाँदा पनि रौतहटका कुनै पनि स्थानीय तहले चिसोबाट नागरिकलाई जोगाउन खासै चासो देखाएका छैनन्।

एमाले नेता तथा समाजसेवी अखलेश्वर चौधरीले भने, ‘जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहहरुले तत्कालै चिसोबाट जोगाउने राहत कार्यक्रम सञ्चालन गर्नुपर्छ। ओढ्ने कपडा, ब्लाङ्केट र खाजाको व्यवस्था गर्ने जिम्मेवारी स्थानीय सरकारको हो तर यो अवस्थामा उनीहरुको उपस्थिति कतै देखिँदैन।’
यता चिसोले पठनपाठनमा समेत असर पारेपछि रौतहटका विद्यालयहरु ३ दिनका लागि बन्द गरिएका छन्। जिल्लाका चन्द्रपुर, गौर, वृन्दावन, इशनाथ, फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनामाई गाउँपालिकाले सूचना जारी गर्दै चिसोका कारण बुधवारदेखि शुक्रवारसम्म सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका हन्

LEAVE A REPLY