तारा देवी फाउण्डेसनले गर्यो तारादेवीको सम्मान

काठमाडौं ,नेपाली गीतसङ्गीतको क्षेत्रमा कोकिला, किन्नरीलगायत उपाधि पाएकी गायिका तारादेवीलाई स्मरण गर्दै ‘सम्झनामा तारादेवी’ साँस्कृतिक साँझ र सम्मान कार्यक्रम सम्पन्न भएको छ।
उनको १९औँ स्मृति दिवसका अवसर पारेर बुधबार जमलस्थित साँस्कृतिक संस्थानमा तारादेवी स्मृति फाउण्डेसनद्वारा ​आयोजित कार्यक्रममा उनका लोकप्रिय गीतहरूमार्फत स्मरण गरियो ।
फाउण्डेसनका संरक्षक रवि श्रेष्ठले आफ्नी आमा तारादेवीले नेपाली साङ्गीतिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानलाई सम्झिने, चर्चा गर्ने र यसै क्षेत्रमा संलग्न व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यका साथ संस्था फाउण्डेसन स्थापना गरिएको बताए । ‘फाउण्डेसनमार्फत आमा तारादेवी को स्मृति दिवसमा गरिने कार्यक्रमले सङ्गीतकर्मीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले सम्मान गर्ने गरेका छौँ’, उनले भने, ‘उहाँको सपनालाई पूरा गर्न फाउण्डेसनले निरन्तर कामहरू गरिरहेको छ।’
यो अवसरमा गीतकार तथा सङ्गीतकार सिके रसाइली, तीर्थकुमारी थापालगायतलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरियो। आठ वर्षको उमेरदेखि नै गाउन थालेकी गायिका तारादेवीले स्वर दिनुभएको ‘शुभकामना भरि’, ‘उकाली ओरालीहरूमा’, ‘साँघुरी बारी नि हो’, ‘त्यो धारा पानी’, ‘कालीपारि दाइ कति राम्रो’ लगायतका गीतहरू अहिलेका पुस्तामाझ पनि लोकप्रिय छन् ।
तारादेवीले आठ वर्षको उमेरदेखि नै गाउन थालेका थिइन्। उनले गीतकार चाँदनी शाह, माधवप्रसाद घिमिरेलगायत थुप्रै चर्चित गीतकार र सङ्गीतकार नातिकाजीलगायत व्यक्तित्वहरुको सङ्गीत संयोजनमा आफ्नो जीवनकालभरिमा करिब चार हजार गीत गाएकी छिन्।
गायिका तारादेवीको २०६२ सालमा निधन भएपछि उनको साङ्गीतिक कृति, योगदान र यात्रालाई जीवन्त बनाउने लक्ष्यले तारादेवी स्मृति फाउण्डेसनको स्थापना गरिएको आयोजित कार्यक्रममा जानकारी गराइन्छ।

LEAVE A REPLY