अध्यादेश संसद्‌बाट चाँडै पारित गराउने गृह मन्त्री लेखकको दावी

काठमाडौँ , गृहमन्त्री एवं नेपाली कांग्रेसका सांसद रमेश लेखकले मुलुकमा व्यावसायिक वातावरण बनाउँदै सुशासन कायम गर्न सरकारले फास्ट्रयाकमा ल्याएको अध्यादेश संसदबाट छिट्टै पारित गर्ने दावी गरेका छन्।
बिहीवार कांग्रेसनिकट नेपाल वित्तीय संस्थाको आठौँ राष्ट्रिय परिषद्लाई भक्तपुरमा सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। सेवा प्रवाह चुस्त दुरुस्त बनाउन अध्यादेशले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
उनले अध्यादेशको कन्टेन्टमा कसैले पनि फरक मत राखेको नभए पनि प्रक्रियाकै कारण अहिलेसम्म संसद्‌बाट स्वीकृत गर्न नसकिएको बताए। उनले अध्यादेश मुलुकको आर्थिक सुधारका लागि आवश्यक भएको कारण सरकार चाँडै नै संसद्‌बाट स्वीकृत गर्ने जिकिर समेत गरे।
‘आईटी क्षेत्रले अहिलेको नयाँ जेनरेशन आकर्षित गरिरहेको छ‚ नयाँ पुस्तालाई यहाँ नै सम्भावना देखाइरहेको छ। त्यो सम्भावना झन् ज्यादा बढाउन हामीले भर्खरै अध्यादेश ल्याएका छौँ’‚ उनले भने, ‘व्यावसायिक वातावरण अनुकूल बनाउन र सुशासन कायम गर्न तथा सेवा प्रवाह दुरुस्त बनाउन अध्यादेश ल्याएका छौँ। अध्यादेशको कन्टेन्टमा कसैले पनि फरक मत राखेको जस्तो मैले देख्दिनँ । तर प्रक्रियाकै कुरा गरेर हामीले त्यसलाई अहिलेसम्म स्वीकृत गर्न सकेका छैनौँ‚ त्यसलाई स्वीकृत गराउँछौँ चाँडै।’
उनले संविधान संशोधन कांग्रेस र नेकपा एमालेले मात्र गर्ने नभई सबै राजनीतिक दलहरुबीच सहमति खोजिने बताए। उनले संविधानको १० वर्षे अभ्यासमा देखिएका सबल र दुर्बल पक्षका आधारमा संविधान परिमार्जन गरिने बताए।
उनले संविधान संशोधनका लागि कार्यदल गठन गर्न सत्तारुढ दलहरुबीच सहमतिसमेत भइसकेको दावी गरे। सबैसँग संवाद र सहकार्य गरेर संविधान संशोधन गरिने उनको भनाइ छ।

LEAVE A REPLY