काठमाडौं ।सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले एमालेभित्र संकीर्ण र दक्षिणपन्थी अवसरवादतिर लैजाने विचार रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित प्रेस चौतारी नेपाल एशोसियट प्रदेश समितिको दोस्रो अधिवेशनमा बोल्दै उनले एमालेको आफूलाईमात्रै शुद्ध ठान्ने र अरुलाई ल्याउन नचाहने, ल्याउँदाखेरी पनि जिम्मेवारी यथोचित नदिने, पूर्वाग्रह राखिराख्ने जस्तो संकीर्णवादले आजको कम्युनिष्ट आन्दोलन कमजोर बनाएको बताए ।
उनले भने, ‘हाम्रोभित्रको अर्को रोग भनेको दक्षिणपन्थी अवसरवाद हो । अहिले हाम्रो पार्टीमा एउटा विचार छ, त्यो संकीर्ण विचार हो, त्यो पनि दक्षिणपन्थी अवसरवादतिर लैजाने विचार हो । त्यो के भन्दा, होईन अरु पार्टीका मान्छेहरुलाई किन ल्याउने ? हामी सबैभन्दा राम्रो पार्टी, कांग्रेसलाई ल्यायो भने त्यसले पार्टीलाई खत्तम पार्छ, राप्रपा त झन ल्याउनै हुँदैन, माओवादीलाई किन ल्याउने ? यतिधेरै भ्रष्ट भइसकेको छ अहिले । आफूलाईमात्रै शुद्ध ठान्ने र अरुलाई ल्याउन नचाहने, ल्याउँदाखेरी पनि जिम्मेवारी यथोचित नदिने, अहिलेपनि हेपिराख्ने, पूर्वाग्रह राखिराख्ने यो संकीर्णवादले आजको कम्युनिष्ट आन्दोलन कमजोर बनाएको छ ।’
त्यस्तै, उनले चुनावमा आफूले टिकट पाएन भने आफ्नो पार्टीको उम्मेदवारलाई नै हराउन लागि पर्ने प्रवृत्ति पार्टीभित्र छ्याप्छ्याप्ती भेटिने पनि उनले बताए । आफैंभित्रको अराजकताले जनताले प्रदान गरेको विश्वासलाई पुँजीकृत गर्न नसके एमालेको हार निश्चित रहेको उनको भनाई छ ।
’