
काठमाडौँ , नेपाली कांग्रेसले पाथीभरा केबलकारको विषय छलफलबाट टुंगो लगाएर विकास निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिएको छ।
हालै बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा पाथीभरा मन्दिर आस्थाको केन्द्र भएकाले धार्मिक आस्थामा क्षति पुग्नेगरी केबलकार निर्माणमा अवरोध गर्न नहुनेमा जोड दिइएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए।
उनले केबलकार निर्माणले आस्थामाथि प्रहार गर्ने नभइ श्रद्धालुहरुलाई सहज पहुँच पुर्याउने दावी गरे।
बैठकमा स्ववियु निर्वाचनको पारदर्शिता सुनिश्चित गर्नमा पनि सबै राजनीतिक दलहरुसँग छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिइएको उनले बताए। अनावश्यक झैझगडा हुन नदिने गरी शान्तिपूर्वक स्ववियु निर्वाचन सम्पन्न गर्नुपर्ने बारेमा छलफल भएको उनले बताए।
‘निर्वाचनसम्बन्धी पहिलाको अध्यादेश, विधेयकहरुको विषयवस्तु थियो। आउँदो अधिवेशनमा निर्वाचनसम्बन्धी विधेयक त्यहीँ नै छलफल गरेर टुंगो लाग्छ‚’ उनले भने, ‘पाथीभरा केबलकारको विषय छ। संवेदनशीलता पहिचान, किराँत संस्कृतिका कुरालाई उच्च सम्मान गर्दछौँ। केबलकारको विषयलाई लिएर गतिरोध उत्पन्न भएको छ‚ यसलाई शान्तिपूर्ण छलफलबाट टुंग्याउनु पर्छ भन्नेकुरा सरकारले पनि निर्णय गरेको छ। छलफल र संवादबाटै यसको समाधान गर्ने भन्ने हो।’