काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायत राजावादीहरुले आज राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरे।
केही समय पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं आउन लागेका छन्। यसैअवसरमा राजावादी दलहरु राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईंले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका हुन्।
फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरु उत्साहित हुँदै आफ्नो अभियानलाई तिब्र बनाइरहेका छन्।
पूर्वराजाको अपिलले राजवादीहरु हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरु पनि तरंगित हुदै पूर्वराजालाई चेतावनी दिइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पुर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता–कार्यकर्तासहित राजसंस्था पक्षधर आज पूर्वराजा शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल गएका थिए ।