गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनतालाई लक्षित गरेर सन्देश दिएपछि देशमा राजतन्त्र बारे बहस सुरु भएको छ । राजावादीहरु आशावादी पनि भएका देखिन्छन्, के राजतन्त्रको पुर्नवहाली होला त ? तपाईको धारणा के छ, यस बारेमा ।
राजतन्त्रको पुर्नवहाली हुन्छ र हुनु पनि पर्दछ । बहुदल व्यवस्थामा जनताले धेरै दुःख पाए । सम्बन्धित दल र दल निकटका लागि मात्रै यो व्यवस्था राम्रो छ । अन्य स्वतन्त्र र आम सर्वसाधारणलाई दुःख छ । राजतन्त्रमा दल नहुँदा मुलुकमा एउटा राजा मात्रै हुन्थे । अहिले दलीय व्यवस्था आए पछि स्थानीय तह, प्रदेश तह र संघीय तह तिनै तहमा राजै राजा छन् । यी सबैलाई सेवा सुविधा दिँदा देशको आर्थिक अवस्था चिन्ताजनक भइसक्यो । देश टाटै पल्टिइसक्यो । नेपालको अवस्था अत्यन्त दयनीय भइसक्यो । त्यसैले यसको अन्त्यको लागि राजतन्त्र पुर्नवहाली हुन अति आवश्यक छ । जनता च्याउ उम्रिए सरी उम्रिएका दल र तीनका नेताबाट हुने काम कारवाहीबाट आजित भइसके । देशको अवस्था वर्वादी भएको छ । यसको सुधार गर्न राजाले मात्रे सक्ने
देखियो । राजतन्त्र अपरीहार्य भयो । बहुदल आएपछि, रातापिरा देखिने, महँगा ड्रेस पहिरिने, महँगा गाडी चढ्ने लगायतका हैसियतमा पुगे । विदेशी बैंकहरुमा पैसा थन्क्याउने पनि उनीहरु नै भए । भ्रष्टाचार नगरेको भए यो हैसियतमा उनीहरु कसरी पुगै ? जबकी सर्वसाधारणलाई भने दुःखै दुःख मात्रै छ । सबैको आर्थिक हैसियत समान हुनुपर्नेमा दलका नेता र कार्यकर्तालाई मात्र चैन भयो । त्यसैले राजनीतिक दलहरुप्रति जनता विश्वस्त छैनन् । राजतन्त्र कि गणतन्त्र कुन ठीक भनेर मतदान गर्ने हो भने राजन्त्रको पक्षमा सर्वाधिक भोट आउने अवस्था सृजना भइरहेको छ ।
राजतन्त्रको पुर्नवहाली भयो भने राजा झन् निरंकुश हुन्छन् भनिन्छ नि ?
त्यो, गणतान्त्रिक नेता भनाउँदाहरुको आरोप होला, तर त्यस्तो हुँदैन । राजा झन् सबैका मन मस्तिष्कमा अटाउने खालको चरित्रशील बन्ने छन् । त्यसैले अब सबै जनता मिलेर राजा ल्याउनुको विकल्प नै छैन ।
देशलाई कस्ता नेता चाहिएला त ?
देशलाई निस्वार्थी, इमान्दारी र बफादारी नेता चाहिन्छ । त्यस्ता नेता भएमा मुलुक समृद्धशाली बन्न समय धेरै लाग्दैन । अहिले इमान्दारी नेताको अभाव खड्की रहेको छ । देशमा राप्रपाका नेता बुद्धिमान तामाङ र म जस्ता लाखौं नेता आवश्यक छ । मैले पनि काठमाडौं महानगरपालिका वडा नं। २५ को वडाध्यक्ष हुँदा वडाका फटाहा व्यक्तिहरुलाई ठीकमा ल्याएको थिए । वडा भित्रका विकृति र विसंगतीलाई परास्त गर्न लागि परेकै बेला राजतन्त्र नै गयो । पुरा कार्यकाल काम गरेर देखाउन पाइन । मेरो कामप्रति तत्कालिन ज्ञानेन्द्र सरकार प्रभावित भएको थियो । राम्रो कामकै कारण मलाई मन्त्री बन्ने अफर समेत आएको थियो । सरकार नगएको भए सायद म त्यतिबेला मन्त्री नै बन्ने थिए होला । तर अब फेरी पालो आउला जस्तो छ ।
राजतन्त्र फर्किने आधार के–के छन् ?
मुख्य आधार भनेको व्यवस्था र दलप्रति जनता खुशी नहुनु हो । व्यवस्था परिवर्तन गर्न जनताको ठूलो भूमिका रहन्छ । आम जनता वर्तमान सरकारदेखि निराशावादी बन्दै गएका छन् । दोस्रो आधार भनेको देशमा भ्रष्टाचारीको जमान बढ्दै जानु, राजनीतिक दलहरुले आफ्नै समर्थकहरुलाई मात्र हेरचाह गर्नु र सर्वसाधारणको वेवास्ता गर्नु लगायतका कारणले दलहरु अलोकप्रिय बन्दै जानु हो
अहिले वर्तमान सरकार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनेतर्फ लागेका छन् । यसमा तपाईको धारणा के छ ?
कुलमान घिसिङलाई हटाउन मिल्दैन । कुलमान घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएयता लोड सेडिङ शुन्य छ । प्राधिकरणलाई करोडौ रुपैया आम्दानी गराएका छन् । उनी जस्ता व्यक्ति विरलै पाइएला ।
अहिले राप्रपाले गरीरहेको सडक आन्दोलन केका लागि ?
हुन त राजतन्त्र पुर्नवहालीका लागि होला तर राप्रपा पनि दलभित्रकै हुँदा निस्वार्थ रुपमा जनताका काम होलान् भनेर विश्वास गर्ने ठाउँ देखिदैन । जस्तो अहिले भइरहेको दलहरुले पनि निस्वार्थ रुपमा काम गरीरहेका छैनन् । निस्वार्थ रुपमा काम हुन विशुद्ध रुपमा एकतन्त्र मात्र चाहिन्छ । कुनै दलको झण्डा होइन, नेपालको झण्डामुनी बस्नु पर्दछ । पार्टीको झण्डा बोक्ने भनेको अवसरवादीले मात्र हो । यस अर्थमा दलहरु सबै अवसरवादी नै हुन् । चाहे कांग्रेस होस्, एमाले होस् या माओवादी केन्द्र लगायत अन्य साना दल नै किन नहुन् सबै अवसरवादी हुन् । दलको झण्डा बोकेर हिड्ने चाहे जो सुकै हुन् सबै अवसरवादी हुन् ।