काठमाडौं । देशभरका शिक्षकहरुले शिक्षक महासंघको नेतृत्वमा विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन छिटोभन्दा छिटो जारी गर्न दबाब दिएका छन् । उनीहरुले काठमाडौंको बानेश्वरबाट माइतीघर मण्डलासम्म प्रदर्शन गर्दै त्यस्तो दबाब दिएका हुन् । प्रदर्शनकारीहरुका नारा थिए ‘पूर्व सहमति कार्यान्वयन गर, विद्यालय शिक्षा ऐन जारी गर’ भन्ने थिए । आन्दोलनमा सहभागी शिक्षकहरुलाई विभिन्न समुहमा विभाजन गरिएको थियो ।
प्रदर्शनकारी शिक्षकहरुले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्वको लागि नयाँ ऐनमा कार्यरतहरुलाई विशेष प्राथमिकता सहित आन्तरिक परिक्षाको प्रबन्ध हुनुपर्ने, विद्यालय कर्मचारीको विषय हरेक विद्यालयमा कर्मचारीको दरबन्दी सृजना गरी कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखी स्थायित्वको प्रक्रियामा लैजानुपर्ने, बालकक्षा शिक्षकको सवालमा विद्यालय शिक्षाको आधार रहेको प्रारम्भिक बाल शिक्षालाई संरचना बाहिर राख्न नहुने, अस्थायि अवधि गणना तथा निवृत्तिभरणबारे विश्व विद्यालयमा पेन्सन प्रायोजनका लागि सबै अस्थायी अवधि गणना हुने व्यवस्था भए अनुसार विद्यालय शिक्षामा पनि यो प्रबन्ध मिलाउनुपर्ने, बढुवा ग्रेड तथा तलब मिलान लगायतका माग राखी प्रदर्शनमा उत्रिएको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।