ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रलाई सुव्यवस्थित, विश्वसनीय र पारदर्शी बनाउनु नै आफ्नो मुख्य प्राथमिकता रहेको बताउँदै यसका लागि सम्बन्धित सबै पक्षहरूसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको जानकारी दिनुभयो। उहाँले बीमा ऐनले तोकेका जिम्मेवारीहरू पूरा गर्न कर्मचारी युनियनहरू, बीमा कम्पनीहरू र अन्य सरोकारवालाहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो।
ललितपुरमा नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओझाले बीमा क्षेत्रका समस्याहरू सबै मिलेर समाधान गर्न सकिने बताउनुभयो। उहाँले सरकारले दिएको जिम्मेवारी कामबाट नै पूरा गर्ने र बीमा क्षेत्रमा असल अभ्यासलाई प्रवद्र्धन गर्न सबैसँग मिलेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।
यसै कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कर्मचारीहरूका हक र हितका विषयमा कर्मचारी युनियनहरूसँग सहकार्य गर्न व्यवस्थापन तयार रहेको बताउनुभयो। उहाँले कर्मचारी युनियनहरूले पनि संस्थागत विकासमा सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता रेखाङ्कित गर्नुभयो।
बीमा क्षेत्रलाई अझ पारदर्शी र विश्वसनीय बनाउने प्रयासमा नेपाल बीमा प्राधिकरणले सम्बन्धित सबै पक्षहरूसँग मिलेर काम गर्ने घोषणा गरेको छ। यसले बीमा क्षेत्रमा ग्राहकहरूको विश्वास बढाउन र दिगो विकासमा योगदान दिने अपेक्षा गरिएको छ।