काठमाडौं । राजावादीको प्रदर्शन हिंसात्मक भएपछि समाजवादी मोर्चाका नेताहरुले नेपालमा राजसंस्था पुर्नस्थापना नहुने ठोकुवा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजसंस्था पुर्नस्थापनाको सपना नदेख्न चेतावनी दिएका छन् ।
चैत्र १५ गते काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहले विगतमा धेरै गल्ती गरेका कारण त्यसको परिणाम भोगीरहेको बताए । शाहले अर्को गल्ती गरेमा भोग्न बाँकी केही नरहने उनको दाबी छ ।
अध्यक्ष प्रचण्डले भने– ‘जनता र राजनीतिक दलहरुको उदारतालाई कमजोरी ठानेर राजसंसथा पुर्नस्थापनाको दुस्साहस नगर्न चेतावनी पनि दिए । प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नै राजावादीसँग मिलेको आशंका व्यक्त गरे । प्रचण्डले राजावादीहरुको प्रदर्शनलाई अराजकताको पराकाष्ठाको संज्ञा दिए । राजावादीहरुले केही मान्छे मरुन र देशभर आर्तक फैलियोस् भन्ने चाहना राखेर प्रदर्शन निरंकुशता वादीहरुको प्रतिक जस्तो देखिएको टिप्पणी समेत गरे ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले पुनः वंशको शासन ल्याउने चेष्टा गरे ठूलो मूल्य चुकाउनुपर्ने बताए । उनले राजतन्त्र फर्काउने कल्पना नगर्न भन्दै इतिहासको रथ पछाडि जान नदिने बताए । त्यसैगरी संविधान च्यात्न खोजेको भन्दै संविधानमा भएका उपलब्धिहरुलाई गुम्न नदिन समाजवादी मोर्चाले खबरदारी गरेको बताए ।