काठमाण्डौं । सर्बकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल अब नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको तयारीमा छन् । आगामी भदौ २७ गतेलाई प्रदर्शन मिति घोषणा भइसकेको चलचित्रका लागि कलाकार छनोट प्रक्रिया सुरु भएको छ । चलचित्रमा पहिलो कलाकारको रुपमा गौमाया गुरुङ भित्रिएकी छन् ।
‘कबड्डी ४’, ‘फूलबारी’, ‘महाजात्रा’ जस्ता चलचित्रमा सशक्त भूमिकाका लागि परिचित गौमाया रंगमञ्च पृष्ठभूमिकी हुन् । गत वर्ष बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको ‘बर्लिनाले ट्यालेन्ट’मा समेत छनोट भएकी उनको एफएक्स टीभी र बीबीसीले निर्माण गरेको ‘ब्ल्याक नार्सिसस’ टेलिशृङ्खलामा पनि अभिनय छ । उनले गत महिना फिल्म ‘महाभोज’को छायांकन सकाएकी थिइन् ।
सुशान्त गौतमको निर्देशनमा बन्न लागेको ‘अभिमन्यु’ले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने संघर्षको कथा भन्ने जनाइएको छ । यो चलचित्र विश्वभर एकसाथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ
मुकेश खनालको लेखन रहेको चलचित्रको क्रियटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि ‘बाटो रोड टु डेथ’ निर्देशन गरेका थिए । शरद महतोको डिओपी रहने चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह निर्मातामा छन् । सेभेन सिज सिनेमाको प्रस्तुति चलचित्र बन्नेछ ।