५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भित्रको विवाद चुलिँदै गएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी हितविपरीत कार्य गरेको भन्दै नेताहरूलाई पदमुक्त गर्न थालेपछि डा. धवलशमशेर राणा पक्ष प्रतिवादमा उत्रिएको छ ।
अध्यक्ष लिङ्देनले विचार नमिल्नेहरू पार्टी छोडेर गए फरक नपर्ने अभिव्यक्ति दिइरहेका छन् भने संस्थापन पक्षले पेल्दै गए विशेष महाधिवेशनको माग गर्ने चेतावनी इतरपक्षले दिएको छ ।
पछिल्लो समय अनुशासन समितिका संयोजक रहेका नवराज सुवेदीलाई अध्यक्ष लिङ्देनले पदमुक्त गर्दै उक्त स्थानमा रोशन कार्कीलाई जिम्मेवारी दिएपछि विवाद थप बढेको छ । पार्टी परित्याग गरेको सार्वजनिक घोषणा गरेका सुवेदी र प्रवक्ता सगुन लावतीलाई अध्यक्ष लिङ्देनले २५ असारमा हटाएका थिए ।
लिङ्देनले विधानविपरीत कार्य गरेको भन्दै पूर्ववत् पदमा फर्कन पाउनुपर्ने मागसहित असन्तुष्ट पक्ष निर्वाचन आयोगमा निवेदन दिन पुगेको थियो ।








