जनसंख्या वृद्धिलाई प्राथमिकतामा राखौं

सम्पादकीय

हाल नेपालको जनसंख्या स्वाट्टै घटेको छ । जनसंख्या घट्नुको मुख्य कारण बढ्दो बेरोजगारी र महँगो शिक्षा, स्वास्थ्य हो । सन्तानको पालनपोषण गर्न आम्दानीको बाटो नहुँदा र शिक्षा, स्वास्थ्य महँगो हुँदा प्राय अधिकांश दम्पत्तिले एक सन्तान र बढीमा दुई सन्तान मात्र जन्माउने निर्णय गर्दछन् ।
हाम्रो पिता–पुर्खाले आर्शिवाद दिन्थे ‘सन्तानले डाँडाकाँडा ढाकुन्, मागेर खानु नपरोस्, दिएरै खानु परोस्, आफ्नो हात जहिले पनि माथि नै होस्, कहिल्यै तल नपरोस्, सन्तान वरपीपल तपेझैं तपिरहुन’ जस्ता धेरै आर्शिवाद दिने गर्दथे । नभन्दै ३०÷३५ सालसम्म के गाउँ के शहर सबै ठाउँमा जनघनत्व बाक्लै रहेको देखिन्थ्यो । पछिल्लो समय जब जब निजी स्कुल र निजी स्वास्थ्य संस्था बढ्दै गए र सरकारी स्कुल र स्वास्थ्य संस्थामा गुणस्तरीयता घट्दै गयो, तब तब जनसंख्या घट्दै जान थाल्यो । दम्पत्तिहरुले छोरा वा छोरी जे भए पनि एक वा दुई जनाभन्दा बढी नजन्माउने निर्णय लिन थाले । जन्मिएका र हुर्किएका पनि पढ्दै कमाउँदै गर्ने बहानामा युरोपियन देशहरु अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान जस्ता विकसित मुलुकमा जान थाले । पढ्न खर्च गर्न नसक्नेहरु खाडी मुलुक गए र जानेक्रम जारी नै छ । जसले गर्दा गाउँघरका उर्वर जमिन बाँझै बस्न थाले, गाउँ सुनसान हुन थाल्यो । कृषि प्रधान देश भएर पनि सागको मुठा समेतमा परनिर्भरता बढ्न थाल्यो । अहिले गाउँबस्ती सुनसान र उराठ लाग्दो, वृद्धवृद्धा र बालबालिकाभन्दा कोही छैनन् । गाउँबस्ती भर्न विदेशी नागरिकलाई नागरिकता दिएर बसोबास गराउनुपर्ने अवस्था आएको छ । यो अवस्थालाई निराकरण गर्न अब सरकारले हरेक नव दम्पत्तिलाई कम्तिमा ३ सन्तान जन्माउन अभिप्रेरित गर्नुपर्ने र तिनको शिक्षा, स्वास्थ्यको ग्यारेन्ट िलिनुपर्ने अवस्था आएको छ । रोजगारीमा वृद्धि र शिक्षा, स्वास्थ्यमा गुणस्तरीय र सस्तो हुने वित्तिकै अबको १० वर्षमा जनसंख्या अवश्य पनि बढ्ने छ । सरकारले यसप्रति गम्भीर रुपले सोच्नुपर्ने र त्यसतर्फ लागि हाल्नु पर्ने जरुरी छ । होइन भने देशमा जंगली जनावरले राज गर्ने अवस्था नआउला भन्न
सकिदैन । जनसंख्या कम र जंगली जनावरले दुःख दिन थलोपछि कतिपय ग्रामीण भेगमा बसाई सर्ने क्रम जारी नै छ । यसप्रति सरकारको ध्यान जाओस् ।

LEAVE A REPLY