राजनीतिक दलमा अस्वभाविक रुपमा कलह, जनताका काम भनें ओझेलमा

काठमाडौं । पछिल्लो समय नेपालका ठूला तथा साना दलबीच अन्तरकलह चर्किरहेको छ । यसको मुख्य कारण दलहरु बिचको पदीय असन्तुष्टि नै हो भन्ने कुराको प्रमाण उनीहरुको कलह शैलीले पुष्टि गरेको छ । ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले भित्रको कलहको मुख्य कारण दलको नेतृत्व एउटै व्यक्तिले लिन खोज्नु र अरुको पालो नआउनु रहेको छ भने अन्य साना दलको पनि कलहको कारण उस्तै प्रकृतिको छ । विभिन्न एजेण्डा लिएर चुनाव जितेका दलहरु पद र सत्ताका लागि झगडा गरिरहँदा जनताका कामहरु जति हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन ।
नेकपा एमालेमा पार्टी अध्यक्षका विषयमा नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बीच भएको विवादले एमाले फेरि फुट्ने हो कि भन्ने त्रास देखिदै छ । पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको नेतृत्व चाहिने र त्यो नेतृत्व एमालेको केन्द्रीय कमिटीले नदिनका लागि पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नै नविकरण गर्न नमिल्ने बताइरहेको छ । जब की नेपालको संविधानले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन बर्जित नै गरेको छैन । एमालेले पार्टीभित्रको ७० वर्षे उमेर हदनै खारेज गरेको छ । यसैकारण एमाले भित्रको द्वन्द्व समाधानभन्दा समस्या तिर धकेलिदै छ । एउटा पार्टी अध्यक्ष पदका लागि पार्टी भित्र अन्तर कलह गर्नु एमालेलाई सुहाउने कुरा होइन ।
त्यसैगरी नेपाली कांग्रेसभित्र शेरबहादुर देउवा र शेखर कोइरालाबीच पनि पार्टी नेतृत्व कै कुरा छ । कोइराला गुट अबको पार्टी महाधिवेशनमा शेरबहादुर देउवाको विकल्प खोज्दै पार्टी महाधिवेशन अघि सार्न खोजीरहेको छ भने देउवा गुट चुनावपछि धकेल्न खोजीरहेको छ । देउवा गुट आगामी महाधिवेशन पछि पनि देउवालाई पार्टी सभापति बनाउने पक्षमा छ । त्यति मात्रै होइन नेपाली कांग्रेसमा त प्रदेशस्तरमै पनि झगडा भएको छ । पछिल्लो समय बागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता समेत रहेका बहादुर सिंह लामालाई हटाएर साढे २ वर्षपछि नतिजा उल्टाउँदै नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँलाई संसदीय दलको नेता बनाइएको छ ।
त्यस्तै नेकपा एसभित्र पनि नेपाल–खनालबीच वैचारिक द्वन्द्व चर्किरहेको छ । सम्मानित नेता झलनाथ खनालले एमाले फुटाउनु गलत भएको भन्दै सार्वजनिक स्थानमै पश्चताप गर्न थालेपछि माधव नेपाल खनालदेखि रिसाउँदै पार्टीबाट जान निर्देशन दिएका छन् । खनालले केन्द्रीय समिति बैठक र महाधिवेशनमा बैचारिक रुपमै जब जनै बोकेर हिड्ने, उही कार्यशैली र सांगठनिक पद्धति बोक्ने भए एमालेमा विद्रोहको अर्थ के भन्ने तर्क गरेका थिए ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीमा पनि पार्टी संरक्षक श्रीमान रेशम चौधरीले आफ्नैबाट धोखा भयो भन्दै श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई पार्टी अनुशासन पालना नगरेको आरोपमा अध्यक्ष पदबाट हटाएका छन् ।
त्यसैगरी देशको फरक धारको नेतृत्व गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि तीव्र विवाद छ । अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणाबीच विवाद देखिएको छ । अध्यक्ष लिङ्देनले महामन्त्री राणालाई संगठन विभाग प्रमुखबाट हटाएपछि राप्रपामा विवाद चुलिएको हो । यसक्रममा अध्यक्ष लिङ्देनले उपाध्यक्षबाट मुकुन्द श्याम गिरी र प्रवक्ताबाट सगुन सुन्दर लावतीलाई हटाएपछि राप्रपामा विवाद झन् चुलिएको हो । त्यसो त राप्रपामा महाधिवेशन नजिकिदै गएकाले पुनः अध्यक्ष हुन अध्यक्ष लिङ्देनले आफ्नो समुह बलियो बनाउन राणा निकटका नेतालाई बर्खास्त गरिरहेको देखिन्छ ।

 

 

 

LEAVE A REPLY