काठमाडौं । दलहरुको भूमिकामाथि प्रश्न उठिरहेको समयमा निर्वाचन आयोगले राजनीतिक दलहरुको मूल्यांकन गरेर वर्गिकरण गर्ने तयारी गरेको छ । आयोगले दर्ता भएका दलहरुलाई स्वमूल्यांकन गन दिने र सोही स्वमूल्यांकनका आधारमा मूल्यांकन गरी अंक दिने कार्यविधि बनाउन लागेको हो । यसका लागि राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२ को मस्यौदा तयार गरी सरोकारवालासँग सुझावसमेत मागिएको छ । आयोगले विकास गरेको प्रणाली अनुरुप राजनीतिक दलको मूल्यांकन गर्दै दलहरुलाई निर्वाचन आयोगप्रति जवाफदेही र जिम्मेवार बनाउन खोजेको छ । संविधान, ऐन कानून तथा विधान उल्लंघन गरिरहेका दलहरुलाई लगाम लगाउने गरी कार्यविधि बनाउन लागिएको हो ।
निर्वाचन आयोगले राजनीतिक दलको आन्तरिक कार्यविधिलाई व्यवस्थित गर्दै काम कारवाहीलाई पारदर्शी र जिम्मेवार बनाउन दल आफैले स्वमूल्यांकन गर्दै पद्दतिको विकास गर्न कार्यविधि बनाउन लागेको बताएको छ । स्वमूल्यांकन कार्यविधि नाम दिए पनि आयोगले नै वर्गीकरण गर्नै तयारी गरेको हो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ६१ को व्यवस्था अनुसारले कार्यविधि बनाउन लागेको हो । सो दफामा आयोगले आवश्यक निर्देशिका वा कार्यविधि बनाउन सक्ने र त्यसरी बनेको निर्देशिका वा कार्यविधि सम्बन्धित सबैले पालना गर्नुपर्ने उल्लेख छ ।








