काठमाडौं । राहदानी अति आवश्यक विषयमा पर्छ । एकै प्रकृतिको कामलाई प्याकेज १ र प्याकेज २ मा विभाजन गरी राहदानी छपाई ठेक्का दिएपछि उत्पन्न विवादले केही महिनामै राहदानी वितरणमा समस्या उत्पन्न हुने खतरा देखिएको छ । राहदानी विभागसँग अहिले करिब तीन महिनाका लागि पुग्ने मात्रै राहदानी मौजदात छ र नयाँ ठेक्का पाएको कम्पनीलाई राहदानी छाप्न कम्तीमा ७÷८ महिना लाग्ने देखिएको छ ।
ठेक्कामा अनावश्यक चलखेलमार्फत आफैले सिर्जना गरेको विवादले वितरणमै समस्या हुने सम्भावित जोखिम टार्न विभागले हाल काम गरिरहेको पुरानै कम्पनी आइडिमियासँग थप राहदानी छाप्न जिम्मा दिने गरी भेरिएसनको प्रक्रिया अगाडि बढाएको छ । नयाँ ठेक्का पाएका जर्मन कम्पनीले समयमै पासपोर्ट छाप्न सक्नेमा आशंका भएपछि विभागले संख्या समेत नखुलाई भेरिएसनको प्रक्रिया अगाडि बढाएको स्रोतको दावी छ ।
विभाग आफैले बनाएको प्राविधिक मापदण्ड विपरीत अयोग्य कम्पनीलाई ६४ लाख ईपासपोर्ट छपाईका लागि आठ अर्ब १८ करोडको ठेक्का लगाएको छ । प्याकेज २ ठेक्का पाएको जर्मन कम्पनी भेरिडासँग ईपासपोर्ट छपाइका लागि सम्झौता गरेको विभागले प्याकेज १ ठेक्का पाएको म्यूहबाउरसँग् सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।









