काठमाडौं । बहुविवाहलाई मान्यता दिने विधेयकको प्रस्तावको चौतर्फी विरोध र व्यङ्ग आउन थाले पछि सरकारबहुविवाहलाई मान्यता दिने विषयबाट पछि हटेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई मान्यता दिने कुनै पनि विधेयक सरकारले नल्याउने बताउँदै सरकार उक्त निर्णयबाट पछि हटेको हो । बहुविवाहलाई मान्यता दिनेगरी कानुन संशोधनको मस्यौदा तयार गरिएको भन्दै सार्वजनिक समाचारका विषयमा सांसदले बुधबार प्रतिनिधिसभाको बैठकमा प्रश्न गरेका थिए । बैठकमा मन्त्री चौरसियाले सांसदका प्रश्नको जवाफ दिँदै सरकार उक्त प्रस्तावबाट पछि हटेको बताउनुभएको हो । मन्त्री चौरसियाले समाजमा नकारात्मक असर पार्ने खालका कुनै पनि प्रावधानलाई सरकारले विधेयकमा स्थान नदिने बताउनुभयो ।
बहुविवाहलाई मान्यता दिनेगरी मुलुकी फौजदारी संहिता संशोधन गर्न लागिएको समाचार यसअघि सार्वजनिक भएपछि चौतर्फी विरोध भएको थियो । ‘सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनुमानका आधारमा आएको व्याख्याले आममानिसमा अन्योल र आक्रोश सिर्जना भएको छ,’ उहाँले भन्नुभयो, ‘तर, समाजलाई नकारात्मक असर पार्ने बहुविवाहलगायत कुनै पनि विधेयक संसद्मा पेस हुँदैन ।’








