काठमाडौं । आज बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिदै हुनुहुन्छ । उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १० बमोजिम आज साउन २७ गते विश्वासको मत लिन लाग्नु भएको हो । यसका लागि बागमति प्रदेश सभा सचिवालयले दिनको ४ बजेका लागि बैठक आह्वान समेत गरिसकेको छ ।
गत साउन २० गते बागमतिको छैठौं मुख्यमन्त्रीमा नियुक्त हुनु भएका बानियाँलाई विश्वासको मत दिन नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठकले यसअघि नै ह्वीप जारी गरीसकेको छ । दलका नेतासमेत रहेका बानियाँले कांग्रेस संसदीय दलको ९ सदस्यीय कार्यसमिति गठन गरेसँगै गत शनिबार बसेको बैठकले ३ बुँदे ह्वीप जारी गर्ने निर्णय गरेको प्रदेश सभा सदस्य सुरजचन्द्र लामिछानेले बताउनु भएको थियो । उहाँका अनुसार ३ बुँदे ह्वीपमा बैठकमा अनिवार्य उपस्थित हुनुपर्ने, तटस्थ बस्न नपाइने र विश्वासको मतको पक्षमा मत दिन ह्वीप जारी गर्ने रहेका छ । बैठकले प्रवक्तामा सुरजचन्द्र लामिछाने तोकेको छ भने ३ सदस्यीय अनुशासन समिति पनि गठन गरेको छ । अनुशासन समिति सदस्यमा लामिछानेसँगै छिरिङ दोर्जे लामा र बिनु रायमाझी पौडेल रहेका छन् ।
केही दिन अघि मुख्यमन्त्री बानियाँको नेतृत्वमा भैंसेपाटीमा दलको बैठक बसिरहँदा निवर्तमान मुख्ममन्त्री बहादुर सिंह लामा पक्षको बैठक बसेको थियो । बैठकले लामालाई विश्वासको मत दिन छलफल गरिएको भनिए पनि त्यो सफल भएन । बैठक अघि लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अवज्ञा गर्दै राजिनामा दिन अस्वीकार गर्दै आएका थिए । तर सभापति देउवासँगको भेटपछि लामाले राजिनामा दिन तयार भएका थिए । राजिनामा दिएसँगै बागमती कांग्रेस संसदीय दलले बानियाँलाई नेतामा चयन गरेको थियो ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका सांसदले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
एमालेको समर्थनमा मुख्यमन्त्री बन्नु भएका बानियाँलाई ११० सदस्य रहेको प्रदेश सभामा नेपाली कांग्रेस ३७ र एमाले २७ गरी ६४ सदस्यले समर्थन गरेको छन् । सरकार बनाउन ५६ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने भए पनि बानियाँलाई ८ सदस्य बढी छन् । यसले उनलाई सरकार बनाउन झनै सहज पुर्याएको छ । यसै क्रममा मुख्यमन्त्री बानियाँले १ जना विभागीय मन्त्री सहित ८ जना मन्त्री नियुक्त गरी सक्नुभएको छ । जसमध्ये एमालेको भागमा ६ वटा मन्त्रालय परेका छन् । एमालेले आफ्नो भागमा परेका मन्त्रालयमा जिम्मेवारी सहित मन्त्रीहरु पठाईसकेको छ । कांग्रेसले भने आफ्नो भागमा परेको ६ मन्त्रालयमध्ये २ मन्त्रालयमा मन्त्रि पठाइसकेको छ भने ४ मन्त्रालयमा मन्त्री पठाउन बाँकी छ । मुख्यमन्त्री बानियाँले आफुलाई समर्थन गर्ने एमालेलाई आफुलाईभन्दा २ मन्त्रालय बढी एमालेलाई दिएर समर्थनको गुण तिरेका छन् । जे भए पनि अब बानियाँले आफ्नो कार्यकाल कसरी हुन्छ पूर्ण सफल बनाउनेतर्फ लाग्नुपर्ने आवश्यकता बागमती प्रदेशले ठानेको छ ।









