नाउपाको अध्यक्षमा दोस्रो पटक पनि श्रेष्ठ नै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीमा देखा परेको विवाद झन् झन् पेचिलो बन्दै गएको छ । सो पार्टीका संरक्षक रेशम चौधरीले भेला डाकी रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाए तर त्यो धेरै टिक्न सकेन । निर्वाचन आयोगको बोर्ड बैठकले श्रेष्ठलाई नै अध्यक्ष कायम राख्ने निर्णय गरेको
छ । संरक्षक रेशम चौधरी पक्षधर बहुमत केन्द्रीय सदस्यहरुले गत साउन १४÷१५ मा राष्ट्रिय भेला गरी श्रेष्ठलाई हटाएर रेशमका बाबु लालवीर चौधरीलाई अध्यक्ष चयन गरेका थिए । उनीहरुले नवनिर्वाचित अध्यक्षसहितको कार्यसमिति अद्यावधिक गर्न आयोगमा निवेदन दिएका थिए । यता श्रेष्ठले पनि आफुलाई अवैधानिक रुपमा हटाइएको र आफुलाई नै अध्यक्ष कायम राख्न निवेदन दिएकी थिइन् । दुवै निवेदनमाथि छलफल गर्दै आयोगले श्रेष्ठलाई नै मान्यता दिएको हो । आयोगले दोस्रो पटक श्रेष्ठलाई अध्यक्षमा कायम गरिदिएको छ । यसअघि पनि पार्टीको महाधिवेशन गरेर चौधरी अध्यक्ष निर्वाचित भएका थिए । उनलाई पनि अध्यक्षका रुपमा आयोगले स्वीकार गरेको थिएन । निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले लालवीर चौधरीको अध्यक्ष निर्वाचित प्रक्रिया विधि सम्मत नदेखिएकाले श्रेष्ठलाई नै अध्यक्ष कायम गर्ने निर्णय गरिएको जानकारी दिइन् । ‘राष्ट्रिय भेला र उहाँहरुको अध्यक्ष चलन प्रक्रिया पार्टीको विधि सम्मत नदेखिएकाले सो निर्णय लिइएको हो ।’ उनले भनिन् ।
पार्टी अध्यक्ष श्रेष्ठले आयोगले अध्यक्षमा आफुलाई दिएको मान्यता पार्टीको वैधानिक यात्राको प्रमाण भएको बताइन् ।

LEAVE A REPLY