काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाल्नु भएको मन्त्रिलाई एक वर्षे गृहकार्य यस वर्ष पनि जारी राख्नुभएको छ । प्रधानमन्त्री ओलीले सरकारका २१ जना मन्त्रिहरुले चालु आर्थिक वर्ष २०८२÷०८३ मा सम्पन्न गर्नुपर्ने कार्यहरु निर्धारण गर्दै १ हजार ८८ माइलस्टोनसहितको महत्वपूर्ण गृहकार्य दिनुभएको छ । प्रधानमन्त्री ओलीले केही दिन अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरकारका सबै २१ जना मन्त्रिहरुसँग कार्यसम्पादन गर्नुपर्ने कार्यसम्पादन सूचक, क्रियाकलाप र माइलस्टोन सहितको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्री ओलीले कार्य सम्पादनपछि मन्त्रिहरुलाई जिम्मेवारी अनुसार काम सम्पन्न गरी मुलुकको समृद्धि र विकासमा योगदान पुर्याउन आग्रह गर्नुभयो । उनले सबै मन्त्रालयको जिम्मेवारी अनुसारको काममा परिणाम निकाल्न सके मात्र सरकार सफल हुने भन्दै यसमा गम्भीर बन्न आग्रह गरे ।
प्रधानमन्त्री र मन्त्रिबीच यसरी कार्यसम्पादन सम्झौता गरेर स्पष्ट जिम्मेवारी दिने प्रचलन प्रधानमन्त्री ओलीले नै पहिलो पटक २०७४ सालमा ल्याएका हुन् ।
ओलीले गत वर्ष पनि सबै मन्त्रिहरुसँग यसरी नै कार्यसम्पादन सम्झौता गरेका थिए । उक्त सम्झौता अनुसार चालु आर्थिक वर्षमा ती मन्त्रालयहरुले तोकिएको जिम्मेवारी पुरा गर्न ७ सय ३ वटा क्रियाकलाप सम्पन्न गर्नुपर्ने छ । यसैक्रममा प्रधानमन्त्री र मन्त्रीबीच चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौतामा गत वर्षको कार्यसम्पादनको समिक्षा गरिएको छ । गत वर्ष प्रधानमन्त्री ओलीले सबै मन्त्रिहरुसँग कार्यसम्पादन सम्झौता गर्दै ६६४ वटा क्रियाकलापसहितको जिम्मेवारी दिएका थिए । जसमा ५१९ वटा कामहरु सम्पन्न भएका छन् ।
मन्त्रालयलाई दिइएको जिम्मेवारी पुरा गर्नेमा युवा तथा खेलकुद मन्त्रालय पहिलो भएको छ । जसले ४५ वटा क्रियाकलाप गर्नुपर्ने जिम्मेवारी पाएकोमा सबै लक्ष्य पुरा गरी पहिलो नम्बरमा परेको छ । यसैगरी रक्षा मन्त्रालयले १२ वटा क्रियाकलापको जिम्मेवारी पाएकोमा ११ वटा पुरा गरेको छ ।
यस्तै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ५२ वटा क्रियाकलापको जिम्मेवारी पाएकोमा ४९ वटा पुरा गरेको छ । खानेपानी मन्त्रालयले २२ वटा क्रियाकलापको जिम्मेवारी पाएकोमा १९ वटा सम्पन्न गरेको छ ।
यस्तै परराष्ट्र मन्त्रालयले १४ वटा जिम्मेवारी पाएकोमा १२, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २३ वटा जिम्मेवारी पाएकोमा २०, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ वटा जिम्मेवारी पाएकोमा १७ वटा कार्यसम्पादन गरी राम्रो प्रगति हासिल गरेका छन् ।
यसैगरी राम्रो प्रगति हासिल गर्नेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ३४ वटा जिम्मेवारी पाएकोमा ३१ वटा सम्पन्न गरेको छ भने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १३ वटा जिम्मेवारी पाएकोमा ८ वटा, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले ११ वटा जिम्मेवारी पाएकोम ७ वटा सम्पन्न गरेको छ तर केही मन्त्रालयहरुको भने सुधार राम्रो देखिएको छैन ।
कमजोर कार्यसम्पादन हुनेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय परेको छ । यो मन्त्रालयले ३१ वटा क्रियाकलापको जिम्मेवारी पाएकोमा जम्मा १७ वटा मात्रै सम्पन्न गरेको छ । यसैगरी सहरी विकास मन्त्रालयले २६ वटा जिम्मेवारी पाएकोमा १८ वटा, शिक्षा मन्त्रालयले २७ वटा जिम्मेवारी पाएकोमा ७ वटा, गृह मन्त्रालयले २९ वटा जिम्मेवारी पाएकोमा २१ वटा र स्वास्थ्य मन्त्रालयले ४५ वटा जिम्मेवारी पाएकोमा २७ वटा कार्यसम्पादन सम्पन्न गरेका छन् ।








