काठमाडौँ । गोकणर््ोश्वर मन्दिरका पूजारी जगदीश भट्टले भाद्र कृष्ण औसीका दिन गोकर्णेश्वर मन्दीरमा गएर दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्दा २१ पुस्ता अघि देखिका अगति परेका पितृहरु तर्दछन् भन्ने धार्मिक जनविश्वास रहेको बताएका छन् । सोहि विश्वास अनुसार बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो लागि रहेको छ ।
। यही धार्मिक विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको छ ।
सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि भाद्रकृष्ण औंसीका दिनमा यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्टको भनाई रहेको छ ।
मन्दिरक्षेत्रमा सार्वजनिक जग्गामा घर बनाई बाटो साँघुरो भएकाले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको भक्तजनहरुको गुनासो रहेको छ ।। शास्त्रीय रूपमा महत्त्व रहेको पवित्र तीर्थस्थलको सुव्यवस्थापनमा तीन तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको यहाँ आएपछि थाहा पाएको धेरै भक्तजन बताउँछन् ।
यस क्षेत्रमा वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ । एक वर्षभित्र पिताको दिवङ्गत भएका बौद्धमार्गी यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु डुण्डुप लामाले बताए ।उनले,आजका दिनमा बौद्धमार्गीले गोकर्णमा आई दर्शन गरेमा दिवङ्गत पिताको स्वरूप दर्शन गर्न पाइने विश्वास समेत गर्ने गरेको पनि उनले जानकारी दिए । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रही आएको छ ।
आजैको दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ ।









