काठमाडौं । उखु किसानहरु सरकारले तोकेको प्रतिक्वीन्टल रु.७० अनुदानमा त्यसको ५० प्रतिशत नै घटाएर अनुदान दिने भएपछि साविक अनुदान प्रतिक्विन्टल रु.७० गर्ने र उखुको मूल्यप्रति क्वीन्टल रु एक हजार पुर्याउन माग गर्दै किसानहरु माईतीघर मण्डलामा ऊखुका लांक्रा तेर्साएर प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले कृषक अनुदान कटौती गर्न पाइदैन, उखु कृषक शोषण बन्द गर, किसानसँग भएका सम्झौता लागु गर जस्ता मागहरु प्लेकार्डबाट प्रदर्शन गराएका थिए । गत असारमा बसेको मन्त्रिपरिषद बैठकले उखु किसानले पाउँदै आएको प्रति क्वीन्टल रु. ७० रुपैया अनुदान कटौती गर्ने निर्णय गरेको थियो । किसानले २०६६ सालदेखि उखुमा अनुदान पाउँदै आएका थिए । कटौती हुँदा कृषकहरु आक्रोशित भएका छन् । धर्नामा तराई÷मधेस १३ जिल्लाका करिब ६०० किसान प्रदर्शनमा सहभागी हुने प्रदर्शनकारीका एक व्यक्तिले भने । किसानहरु सरकारले करिब १ अर्ब ६० करोड रुपैयाँ किसानलाई दिन बाँकी छ भन्दै आफ्नो माग पुरा नभएसम्म काठमाडौं नछोड्ने बताएका छन् ।









