हामी पुनः आन्दोलनमा उत्रदैछौंः अध्यक्ष सुवेदी

काठमाडौं । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफुहरु भोली भाद्र ११ गतेदेखि पुनः आन्दोलनमा उत्रिने बताउनुभएको छ । हालै शिक्षा मन्त्रालयबाट जारी विद्यालय शिक्षक विधेयकप्रति असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलनमार्फत आन्दोलनमा उत्रने जानकारी दिनुभएको हो ।
महासंघका अध्यक्ष सुवेदीले सरकारले विगतमा भएको २७ बुँदे सहमति कार्यान्वयन नगरेको र नयाँ विधेयक शिक्षकका सरोकारवाला विषयमा विपरीत रहेको आरोप लगाउनुभयो । अबको आन्दोलन विगतकोभन्दा अझ कडा र दबाबपूर्ण हुने उहाँको चेतावनी छ । उहाँले भन्नुभयो– ‘सहमतिका आधारमा विधेयक पारित हुनुपर्ने हो, तर सरकार शिक्षक विरोधी ढंगले अगाडि बढेको छ ।’
प्रतिनिधि सभा अन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक बहुमतले पारित गरेपछि महासंघले आन्दोलनको कार्यक्रम समेत तय गरीसकेको छ । जस अनुसार भदौं १३ गते सबै पालिकामा र भदौं १५ गते सबै जिल्लाको समन्वय इकाइमा र त्यसपछि भाद्र २१ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने कार्य तालिका तयार पारेको छ । महासंघले मागलाई सम्बोधन नगरेसम्म चरणबद्ध रुपमा कडा बनाउँदै विरोध प्रदर्शन, सडक जुलुसदेखि दबाबमुलक कार्यक्रम ल्याइने प्रष्ट पार्नुभयो । वार्ताबाट माग समाधान नभए संघर्ष नै अन्तिम बाटो हुने उहाँको भनाई छ ।
यस्तै नीजि विद्यालयहरुले पनि आफ्ना विभिन्न मागहरु पुरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । सञ्चालकहरुले विद्यालय शिक्षा विधेयकमा उल्लेख भएको समावेशीपूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरुलाई गैरनाफमूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायतका मागहरु राखेका छन् ।

LEAVE A REPLY