जेनजी आन्दोलनको बहानामा दुग्ध किसानको भुक्तानी अवस्था अन्योलमा

काठमाण्डौ,यस अघिको सरकार सँग दुग्ध किसानहरूले ५ असोजभित्र दूधको बक्यौता भुक्तानी पाउने सहमति गरेको भए पनि हालसम्म भुक्तानीको अवस्था अन्योलमा भएको बताईन्छ।
तर डीडीसीले दशैंअघि चैत महिनासम्मको मात्र बक्यौता भुक्तानी गर्ने र बाँकी भुक्तानी क्रमशः दशैंपछि गर्ने जनाएको छ।
यसअघि दुग्ध किसानको आन्दोलनका क्रममा ५ असोजभित्र बाँकी बक्यौता भुक्तानी गर्ने सहमति भएको थियो । तर, जेनजी आन्दोलन, बन्द(हड्ताल र बजारको अस्थिरताका कारण सहमति कार्यान्वयन नहुने हो कि भन्ने चिन्ता किसानलाई थपिएको छ ।
१५ भदौमा दुग्ध उत्पादक किसानहरूले सात महिनादेखि नपाएको दूधको बक्यौता भुक्तानी माग गर्दै आन्दोलन गरेका थिए ।
दुग्ध किसान आन्दोलनमा उत्रिएपछि १८ भदौमा सरकार र डेरी उद्योगीहरूले दुग्ध उत्पादक किसानसँग दशैंअघि नै भुक्तानी गर्ने सहित ६ बुँदे सहमति गरेका थिए ।
उक्त ६ बुँदे सहमति कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव पशुपति ढुंगाना, केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनका पदाधिकारीहरूले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार २०८२ असार मसान्तसम्मको बक्यौता रकम ५ असोजभित्र भुक्तानी गर्ने भनिएको थियो । यस्तै, साउन मसान्तसम्मको बक्यौता रकम ३० असोज र भदौ मसान्तसम्मको बक्यौता कात्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएको थियो । त्यसपछि बाँकी पैसा भुक्तानी नियमित गर्दै जाने भनिएको थियो ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले दुग्ध किसानहरूलाई दशैंअघि दूधको भुक्तानी दिने सम्बन्धमा हालको अवस्था अन्योल रहेको बताएका छन् । हालसम्म भुक्तानीको स्थितिबारे पूर्ण स्पष्ट जानकारी नआएको र यसको वास्तविक अवस्था बुझ्न अझै केही दिन लाग्ने उनको भनाइ छ ।
‘पछिल्लो समयमा भएका बन्द, हड्ताल र अन्य विभिन्न कारणले गर्दा दुग्ध उद्योगमा असर परेकाले भुक्तानी प्रक्रिया जटिल हुने हो कि भन्ने आशंका छ,’ अध्यक्ष दाहालले अनलाइनखबरसँग भने, ‘हालैको परिस्थितिले गर्दा पनि बजारमा पैसा संकलनमा समस्या भएको छ ।’
अध्यक्ष दाहालले भुक्तानीसम्बन्धी स्पष्टता ल्याउन भुक्तानी गर्नुपर्ने पक्षहरूले आफ्नो अवस्था र कठिनाइबारे औपचारिक जानकारी दिनुपर्ने बताएका छन् ।

 

LEAVE A REPLY