राष्ट्रपति पौडेलद्वारा ६ महिना भित्र निर्वाचन सम्मपन्न गर्न सबेलाई आग्रह


काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्रै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सबैलाई आग्रह गरेका छन्। संविधान दिवस २०८२ को अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यो विषम परिस्थितिमा आम सहमतिबाट राजनीतिक संकटको निकास खोजिएको बताए।
राष्ट्रपति पौडेलले सबै राजनीतिक दल, प्रशासन, बौद्धिक समुदाय र नागरिकलाई मतभेद बिर्सेर निर्वाचनको सफलताका लागि एकजुट भई काम गर्न आह्वान गरे। उनले भने, “यो घडीमा सबै राजनीतिक दललाई असहमति र द्वन्द्व छोडेर पूर्वाग्रहरहित भई समन्वय र सहकार्यसाथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गर्दछु।”
त्यस्तै राष्ट्रपति पौडेलले ‘जेनजी’ आन्दोलनका क्रममा मुलुकले भोगेको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरे। उनले भने, “मुलुकले ती कर्णधार युवाहरू गुमाउँदाको क्षति अनुभूत गर्न सक्छु।” उनले भदौ २३ गते सडकमा आएका युवाहरूको जागरण र असल चाहनालाई स्मरण गर्दै उनीहरूको मूल माग सुशासन र बेथितिको अन्त्य भएको बताए।
उनले ‘जेनजी’ पुस्ताको मागलाई मनन गरी भ्रष्टाचार र बेथितिको अन्त्य गर्न सबै राजनीतिक दल र नागरिकलाई आग्रह गरेै ।
कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाली जनताले प्राप्त गरेको यो संविधान संवैधानिक विकासको इतिहासमा सबैभन्दा बलियो र सार्वभौम उपलब्धि भएको बताए। उनले संविधानको रक्षा गर्दै लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समावेशी विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

अहिलेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नु नै सबै नेपालीको मुख्य कार्यभार भएको उनको भनाइ थियो।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख र ‘जेनजी’ पुस्ताका प्रतिनिधिहरू पनि उपस्थित थिए।

LEAVE A REPLY